काठमाडाैं । लाेक सेवा आयाेगका अध्यक्ष माधव प्रसाद रेग्मी अनियमितता गर्नेहरुप्रति लोक सेवाले शून्य सहनशीलता अपनाउने गरेको बताएका छन् ।
लोक सेवा आयोगको निष्पक्षताको गरिमा कायम हुनुको कारण पनि यही नै रहेको उनको भनाइ छ ।

‘लोक सेवामा सितिमिती अनियमितता हुँदैन, यदि कसैले गरेको वा गराएको रहेछ भने पनि अन्तिम नतिजा प्रकाशन हुनुभन्दा अगाडि र पछाडि पनि त्यो पत्ता लाग्छ र कारबाहीमा परिहाल्छ,’ आयोगका अध्यक्ष रेग्मी भन्छन्, ‘हाम्रो सिस्टम नै त्यस किसिमको छ । अनियमितता गर्नेहरुलाई हामीले सख्त कारबाही पनि गर्यौं ।’
निष्पक्ष प्रतिस्पर्धा गर्ने/गराउने आधारभूत सिद्धान्तलाई अपनाएकाले नै लोक सेवा आयोगले सबै नेपालीको अटुट विश्वास आर्जन गरेको उनको भनाइ छ ।
अनियमितता गर्ने परीक्षार्थीहरुलाई अनियमितताको प्रकृति अनुसार परीक्षा रद्द गर्नेदेखि लोक सेवाले लिने परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने गरेको छ ।
लोक सेवा आयोगका अनुसार गलत रोल नम्बर लेखेका २ जना महिला छन् । उनीहरुलाई लोक सेवाले लिने परीक्षामा एक वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।
यसैगरी आवेदन नदिई परीक्षामा सामेल भएका २ महिला र १ पुरुष गरी ३ जना छन् । लेखन सहयोगी र निरीक्षक दुबैलाई पालैपालो उत्तर लेख्न लगाएकी १ महिला पनि कारबाहीमा परेकी छिन् । उनको परीक्षा रद्द गरिएको छ भने लेखन सहयोगी र निरीक्षक दुबै जनालाई परीक्षामा खटाउन रोक लगाइएको छ ।
नियम विपरीत लेखन सहयोगी राखेका एक जना पुरुष पनि कारबाहीमा परेका छन् । उनको परीक्षा रद्द गरिएको लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।




