झापा । झापाकाे गरामनीमा रहेकाे दुर्गा माविलाई करोडौँको जग्गा दान दिएर अहिले बिचल्लीमा परेका जग्गादाता उजारूँ राजवंशीको परिवारका लागि घर निर्माण सुरु गरिएको छ ।
बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँले घरको शिलान्यास गर्दै उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरूको नभएको अवस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् । प्रसाईले भनिन् ‘उहाँकाे घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सक्दाे सहयोग गर्नेछाैं’ ।

करिब ५ लाख रुपैयाँको लागत तीन कोठे पक्की घर बनाइदिन लागेको उजारूँ राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । कार्यक्रममा उपस्थित दाताहरुले घर निर्माणका लागि सहयोग गर्ने बचन दिएका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरू आफूले व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईँले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गरे भने वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले आफूले गर्नुपर्ने सहयोग गर्ने बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आवश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गरे ।
सोही अवसरमा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले ३० बोरा र कालीमाता मठ मन्दिर समितिले २० बोरा सिमेन्ट सहयोग गरेका छन् । ती सिमेन्ट मन्दिर समितिका काजी बुढाथोकी , रविन बुढाथोकी , गणेश उप्रेतीले हस्तान्तरण गरेका थिए । उजारूँ राजवंशी भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्यले पनि सहयोग गर्ने बताएका छन् । कार्यक्रममा वडा सदस्य सल्पना राजवंशी , राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले घर निर्माणको आवश्यकताका बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन अर्का सदस्य सरोज पौडेलले गरेका थिए ।
हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले बिचल्लीमा परेका छन् । जग्गादाता उजारूँ राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती वयोबृद्धा चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान सञ्चालन गर्न लागिएको समितिले जनाएको छ । उजारूँ राजवंशीको घर निर्माण गर्नका लागि गत भदौमा समिति गठन गरिएको थियो । दाता परिवारको दुःख देखेर आफूहरूको अगुवाइ र सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको संयोजक पाठकले बताए । उनले घर निर्माणका लागि सहयोग गर्न सबै सहयोगी हातहरूलाई आग्रह गर्दै त्यसका लागि लुम्बिनी विकास बैङ्कको बिर्तामोड शाखामा उजारूँ राजवंशी भवन निर्माण समितिको खाता नं ०७२००१२०२४२१५८०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिएका छन् ।




