काठमाडाैं । गत शुक्रबार चितवनको भरतपुरमा रहेकाे मनकामना अस्पतालले उपचारमा लापरबाही गरेर एक गर्भवतीको मृत्यु भएपछि मृतकका परिवारलाई अस्पतालले २७ लाख ५० हजार रुपैयाँ तिरेको छ ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच शनिबार भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति वापत उक्त रमम दिएको वार्ताका एक सहभागीले बताए ।

भरतपुर महानगरपालिका- २६ कि ३५ वर्षीया नविना महतोको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार उपचारका लागि ल्याइएकी नविनालाई शुक्रबार राति १ बजे अस्पतालले मृत घोषणा गरेको थियो । बच्चा जन्मिएपछि साल निकाल्दा अधिक रक्तश्राव भएको जानकारी गराएको पति मणिकलालले बताए ।
साल पाठेघर घरमा टाँसिएको भन्दै चिकित्सकले अधिक रक्तश्राव रोक्न नसकिएकाले पाठेघर नै फालेर बिरामी बचाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । पाठेघर निकालेपछि उनको शरीरको विभिन्न भागबाट रक्तश्राव (बीआईसी)भएर उनको मृत्यु भएको थियो ।
अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त र छिमेकीले अस्पतालमा आन्दोलन गरेपछि दुबै पक्ष बीच सहमति गरिएको हो ।
मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजार रुपैयाँको चेक पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।




