Logo

अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो मेची रङ्गशालाको ईतिहास

देश प्रदेश समाचार २५ पुष २०७९, सोमबार २१:०४ मा प्रकाशित

भद्रपुर जिल्लाको सबैभन्दा पुरानो, व्यवस्थित ,देशका चर्चित र अन्तराष्ट्रिय स्तरका सफल खेलाडीहरुको प्रारम्भिक खेल मैदान हो मेची रङ्गशाला ।
विगत १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन । जसमध्ये सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो पनि हो । झापा फुटबलको उर्वर भूमिले समेत परिचित छ । मेची रङ्गशालामा अभ्यास गरेका हरी खड्का, युगलकिशोर राई ,अनिल सुब्बा, पर्वत पाण्डे, प्रवेश कटवाल , कर्ण लिम्बु, रेजिन सुब्बा, रोहित सुब्बा, गम्भिर राइले अन्तर्राष्ट्रिय स्तरमा भाग लिइसकेका खेलाडी हुन् । फुटबल मात्र नभएर अन्य खेलसँगै फुटबल खेललाइ नै जीवनको अभिन्न अङ्ग मानेर खेल जगतमा होमिएका खेलाडी पलायन हुदै आइरहेको अवस्था थियो । यहि आउँदो फागुन ७ देखी १६ गतेसम्म आयोजना हुन लागेको ‘भद्रपुर झापा गोल्ड कप’ ले एक पटक खेलाडी र प्रशिक्षकसहित रङ्गशालाले काचुली फेर्ने भएको छ ।


सम्पन्न हुन लागेको गोल्ड कपले खेलाडीसहित मेची रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान बनाउँने मौका मिलेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । रङ्गशालाले खेलाडी हुदै प्रशिक्षक समेत उत्पादन गरिसकेको उनले बताएका छन् । खेलाडीलाई जोगाइराख्न भद्रपुरमा फुटबल खेल अनिवार्य रहेको साथै रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको श्रेष्ठले जानकारी दिएका छन् । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी रङ्गशालामा झार रोप्ने र माटोको सतह मिलाउने काम भइरहेको पनि बताए । ४ विगाह ५ कठ्ठा ७ धुर क्षेत्रफल रहेको रङ्गशाला वि.सं. २०२५ सालमा स्थापना भएको थियो । धेरै वर्ष पछि मेची रङ्गशालामा हुन लागेको फुटबल खेलले समग्र खेलाडीलाई उत्प्रेरणा मिल्ने झापा फुटबल सङ्घका अध्यक्ष भगिरथ आलेले बताए । जीर्ण हुदै गएको रङ्शालाले पुनः जीवन्त पाउँने उनको भनाइ छ । मरिसकेको फुटबल खेललाई भद्रपुरले जीवित राख्न लागेकोमा खुसी लागेको अन्तर्राष्ट्रिय फुटबल खेलाडी कर्ण लिम्बुले बताए । मेची रङ्गशालामा अभ्यास गरेर अन्तर्राष्ट्रिय खेलमा तीन पटक भाग लिइसकेको हुदाँ अहिले घरछेउमा नै यति ठुलो प्रतियोगिता हुने जानकारीले फुटबल लगायत अन्य खेलप्रेमी माथि आशाको दियो जागेको लिम्वुले बताए । नेपाल सरकारका जुनसुकै तहले भएपनि वर्षमा धेरै महिना विभिन्न खेलको आयोजना गरेर रङ्गशालालाई जीवन्त राख्न उनले सुझाव दिए ।
मेची रङ्गशालामा अनुमानित १ करोड ५० लाख रुपैयाँको लागतमा ‘भद्रपुर झापा गोल्ड कप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुदैछ । अखिल नेपाल फुटबल सघं (एन्फा) सँगको छलफलपछि मिति तय भएर खेल सञ्चालनको टुङ्गो लागेको हो । यो पहिलो संस्करण हो ।
प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारफिट र भवनको रङ्गरोगन कार्य पनि सुरु भएको छ । काठमाडौँ बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रङ्शालालाई पुनर्जीवन दिन र पलायन हुदै गइरहेका खेलाडीलाई उत्प्रेरणा जगाउन गोल्ड कप आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । खेल क्षमतामा बृद्धि हुने भएकोले रङ्गशालामा खेलकुदका गतिविधि जारी राख्नु पर्ने ढकालको धारणा छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब सहित विदेशी टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकप सहित अन्य खेल सञ्चालनमा ल्याएर रङ्गशाला मैदान जारी राख्ने पाेखरेलकाे भनाइ छ । प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ । त्यस्तै, प्रतियागिता भरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ ।
यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको छ । भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन । त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?