झापा । झापाकाे भद्रपुरस्थित झापा जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरुले ढुङ्गामुढा र कारागार परिसर भित्र टायर बालेर आन्दोलन गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मनाेज लावतीलाई जेल सरुवा गरेकाे विराेधमा कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित बनेर कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गर्दै भाग्न खोज्दा घटनालाई साम्य बनाउन प्रहरीले ७ राउन्ड हवाई फाइरिङ र ५ सेल अश्रुग्यास चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।
लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका थिए ।
कैदीबन्दीहरू आन्दोलित बन्दा करिब डेढ घण्टा कारागारभित्र तनावपूर्ण स्थिति बनेको थियो। सशस्त्र र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा कारागार बाहिर तैनाथ गरिएको थियो।
कैदीबन्दीहरूले झापा कारागार प्रशासन पक्षको निर्णयविरुद्ध आन्तरिक प्रशासन जिन्दावाद, माेहन प्रसाद पनेरु मुर्दाबाद, हाम्रो मान्छे फिर्तागर, कैदीबन्दी एक हाैँ जस्ता चर्को नाराबाजीसमेत गरेका थिए । स्थिति अलिक साम्य भएपछि माईकिङ् गरेर सम्पूर्ण आन्दाेलित कैदीबन्दीहरुलाई आ-आफ्नो काममा लाग्न निर्देशन दिदै जेलर प्रमुख र कारागार सुरक्षा प्रमुखकाे जिल्ला प्रशासनसँग सरुवा माग गरेका थिए ।
कारागारभित्र लगाइएको आगो भद्रपुर , मेचीनगर , बिर्तामोड , दमक नगरपालिका, कमल गाउँपालिकालगायतको दमकले नियन्त्रणमा लिएको थियो।
कारागारभित्रको तनावपूर्णस्थिति कारागार विभागले कैदीबन्दी सरुवा गरेकाे कारणले भएकाे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। उनले भने, `सरुवा गरेकाे कैदीबन्दीलाई यहिले तत्काल नपठाएको र अहिले जस्तो छ त्यस्तै रहने र कुनै किसिमकाे पनि नकारात्मक कार्य नगर्न साम्य रहेर बस्ने सहमति कारागारका चौकीदार पक्षसँग वार्ता गरेका छाै´ । प्रजिअ पोखरेलले भने, ‘तत्काल कैदी लावतीलाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार अगाडि बढ्ने सहमति भएको छ।’ कारागारभित्र कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको उनको भनाइ छ ।




