काठमाडाैं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवा पत्र दिएर संसदको अधिकारी नांगो र निर्लज्ज रुपमा संसदको खिल्ली उडाएकाे बताएका छन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताउदै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव गौत्तमलाई अवहेलनामा कारबाही गर्नुपर्ने र हुनुपर्ने बताएका छन् ।

महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र बुधबार दिएका थिए । लगत्तै परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।
रिट निवेदनको मस्यौदा गरेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रारम्भिक बहस गरेका थिए । उनले जबराविरुद्धको महाअभियोग नयाँ संसदमा पेश हुने र महासचिवको पत्र गैरसंवैधानिक रहेको बताए । चोलेन्द्रलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजियो पनि उनको आरोप छ ।




