Logo

देश प्रदेश समाचार ७ भाद्र २०७९, मंगलवार ०९:४० मा प्रकाशित

धनगढी थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यस दिनलाई ‘विद्रोह दिवस’का रुपमा मनाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइने जानकारी दिए ।

घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनी थुनामै रहेका बेला प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
टीकापुर घटनालाई थरुहटरथारुवान संयुक्त मोर्चाले भने ‘कालो दिन’ का रुपमा स्मरण गर्दै कार्यक्रम गर्दैछ । थरुहटरथारुवान संयुक्त मोर्चाका संयोजक माधव थारुले घटनाको सम्झनामा टीकापुरको कान्छी बजारमा विरोध सभा आयोजना गरिएको जानकारी दिए । थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको बताउँदै उनले थरुहटरथारुवान संयुक्त मोर्चा, थारु कल्याणकारीसभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा विरोध सभा आयोजना गरिएको जानकारी दिए ।

अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग थरुहटरथारुवान मोर्चाले राख्दै आएको छ ।
टीकापुर घटनामा संलग्न भएको ठहरसहित कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो । श्रवण चौधरीलाई नाबालक भएकाले आधा अर्थात १० वर्ष सजाय तोकिएको थियो ।

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए । तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्मकैद हुुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् ।
६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?