भद्रपुर । कैदीहरुलाई सङ्क्रमण देखिएपछि कारागारभित्रै दुई सयजना अट्ने क्षमताको आइसोलेसन बनाउन थालिएको छ । झापा कारागारका आठ जना कैदीबन्दीलाई शुक्रबार कोरोना सङ्क्रमण देखिएपछि कारागार प्रशासनले आइसोलेसन बनाउने तयारी थालेको हो ।
कारागारको छतमाथि वनाइएको ट्रष्टको छानोलाइ प्रयोग गरी कोरोना सङ्क्रमित कैदीहरुलाई राख्नका लागि आइसोलेसन बनाउन थालिएको कारागार प्रमुख राजेन्द्र गौतमले बताए । दुई सयजना अट्ने क्षमताको आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको र आजबाट सारिने उनले बताए । पहिलो चरणमा दिर्घ रोगी, जेष्ठ नागरिक र लक्षण जस्तो देखिने बन्दीहरुलाइ राखिने उनले बताए ।
आइसोलेसनका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ५० थान त्रिपाल कारागारलाई प्रदान गरेको छ । झापा कारागारमा रहेका ७ कैदीसहित १० जनालाई सङ्क्रमण पुष्टि भएको थियो । असोज ५ गते कारागारका १७ जनाको पीसीआर परीक्षण गराउँदा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो । फैसला कार्यान्वयनका लागि कारागार ल्याउनेक्रममा पीसीआर जाँच गर्दा यसअघि असोज ५ गते एकजना कैदीलाई सङ्क्रमण देखिएको थियो । सङ्क्रमितको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको अस्पातले जनाएको छ । कारागारका ११ जना अहिले आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ३५० कैदीबन्दी क्षमता रहेको झापा कारागारमा हाल ८२ महिला र १०६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका समेत गरी ११ सय ४३ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा महिला विभाग भने छुट्टै रहेको छ ।




