काठमान्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनिती भन्दा भवन उद्घाटन कार्यमै ब्यस्त देखिएकाे छ । मंगलबार बिहान ११ बजे बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका थिए । तर, महत्वपूर्ण राजनीतिक बैठक नसकिँदै प्रधानमन्त्रीलाई कीर्तिपुरमा धार्मिक तथा सामाजिक समूहको भवन उद्घाटनमा जान हताराे भएकाे थियाे । बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक डाकिएको थियो । तर, दिउँसो १ बजे चोभारमा सुलक्षण कीर्ति बिहारको आयोजनामा ज्येष्ठ नागरिक भवन उदघाटन गर्न पुग्नुपर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेकाे थियाे । बिबिध कारणले सर्वदलीय बैठक तीनघण्टा लम्बियो, प्रधानमन्त्रीले छटपटिँदै भन्न थाले, मलाई अर्को जरुरी कार्यक्रममा जान ढीला भयो, अब छोट्याऔं ।मुलुकले भोगिरहेका समस्याबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले सबै नेताहरुको कुरा सुन्नसमेत भ्याएनन् । समयको व्यवस्थापन गर्ने मामिलामा प्रधानमन्त्रीको सचिवालय कति कमजोर रहेछ भन्ने त्यहाँ छताछुल्ल भयो । एउटा भवन उदघाटनका लागि समेत दौडनुपर्ने प्रधानमन्त्रीको धपेडी प्रत्यक्ष अनुभूत गरेर दलका नेताहरु बालुवाटारबाट फर्किएका थिए ।




