Logo

कर्मचारीद्धारा हल्दीबारी गाउँपालिका अनिश्चितकालीन बन्द

देश प्रदेश समाचार २० आश्विन २०७७, मंगलवार २०:३८ मा प्रकाशित

भद्रपुर हल्दीबारीमा कार्यरत कर्मचारीले तलब नपाएको भन्दै अनिश्चितकालीन सेवा ठप्प पारेका छन् ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर बहादुर गिरी बिचको विवादले गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता नपाएको भन्दै मङ्गलबारबाट सेवा ठप्प पारेका हुन् । साउन, भदौ र असोज (दसैँ पेस्की)सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक – पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रुपमै ज्ञापनपत्र बुझाइसके पनि माग सम्बोधन नभएपछि अनिश्चितकालीन सेवा ठप्प बनाएका छन् । गाउँपालिकामा कार्यरत सबै कर्मचारीले तलब सुविधाको माग राख्दै सोमबार सामूहिक हस्ताक्षर गरेको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाललाई बुझाएका थिए ।
गाउँपालिका भित्रको विवादले जनताको सेवामा अहरोत्र खटिने कर्मचारीहरुको तलब सुविधा रोक्दा समस्याले आन्दोलित बनेको लेखा अधिकृत चूडा बोहोराले जानकारी दिए । पटक– पटक तलब सुविधाका लागि ध्यानाकर्षण गराए पनि माग सम्बोधन हुन नसकेपछि सेवा ठप्प पारेको उनले बताए ।
तलब सुविधा रोकिँदा कर्मचारीलाई समस्या परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । वहुमत सदस्यले बजेट नीति तथा कार्यक्रम पास गरिसकेको पालिका उपाध्यक्ष गिरीले बताए । पारित गरेको कार्यक्रमलाइ प्रमाणिकरण गरेर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लैजानु पर्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षको उपस्थिती विना गरिएको गाउँसभा कानुन विपरीत रहेको पालिका अध्यक्ष लिङदेनको भनाइ छ । बहुमतको दम्भले पालिका नचल्ने उनले बताए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?