विर्तामाेड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जितेर देखाउन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।
‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । देश बनाउनेहरुको यो पार्टी हो’उनले भने,‘ माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन ।’ उनले प्रचण्डलाई पनि एमालेले चुनाव जिताइदिएको भन्दै अब चुनाव जित्ने कुरा सपना बनेको बताए । ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएका हौं । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो’उनले भने,‘ अब जितेर देखाऊन् । उनीहरूलाई कसले भोट दिन्छ ? अब जनताले भन्नेछन्– जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’
सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उनले अहिलेको सरकार तीन महिनामा नै ढलपल–ढलपल अवस्थामा पुगेको दावी गरे ।

एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने भन्दै ओलीले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा निकै गाह्रो भएकोसमेत चुनौती दिए । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामथ्र्य अरुसँग छैन,’ ओलीले भने, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचरणमा पनि अगाडि छ ।’
कार्यक्रममा ३ हजार जना एमालेमा प्रवेश गरेको जनाइएको छ । नवप्रवेशीहरुलाई ओलीले टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।




