माइधार / झापासँग सिमाना जोडिएका इलामका सामुदायिक वनहरुबाट अवैध रुपमा सखुवा चिरान गरी माई खोलामा बगाएर तस्करी गर्ने क्रम बढेको छ ।
सामुदायिक वनमा हरिया काठ चिरान गरी खोलामा चाली बनाएर तस्करी गर्ने कार्यमा स्थानीय उपभोक्ताहरु आफै संलग्न रहेको पनि आरोप लाग्दै आएको छ । वन कार्यालयका सरकारी अधिकारीले लगाएको आरोप खण्डन गर्ने क्षमता कसैसँग पनि छैन । किन भने काठ बरामद हुनु र तस्कर फरार हुनुका कारणले पनि अवैध काठ निकासी कार्यमा सामुदायिक बनका पदाधिकारीसहित स्थानीय उपभोक्ता पनि संलग्न छन् भन्ने कुराको पुष्टि सहजै गर्न सकिन्छ ।

इलामको दक्षिणी सीमा भएर बगाएको काठ विहिबार राति कन्काई नदीको पानीबाटै बरामद भएको छ । वनको गस्ति टोलीले ती काठ बरामद गरेको हो । झापाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई पुलको करिव दुइ सय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका २२ वटा साँखु जातका काँचा रुखका फेन्टा वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ ।




