Logo

सरकारको निर्णय भएपनि सीमा नाका नखुल्दा सास्ती,हेराैँ तस्वीरमा

देश प्रदेश समाचार १० आश्विन २०७८, आईतवार १४:०४ मा प्रकाशित

झापा । सरकारले कोभिड १९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सबै नाका खुलाउने निर्णय गरेपनि कार्यान्वयन नहुदाँ सर्वसाधारणले सास्ती पाएका छन् । नाका खुलाउने सरकारी निर्णय औपचारिकता पाउन नसकेकै कारण झापाको काँकडभिट्टामा यसअघि आवतजावतमा गरिएको कडाई नै यथावत रहेको छ । यता भद्रपुर नाका भने शुरु देखिनै बन्द रहेको छ ।
असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । भारतसँग सीमा जोडिएका सबै नाका अब खुल्ने निर्णय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि काँकडभिट्टा र भद्रपुर नाकामा मानिसको भीड समेत बढ्न थाल्यो । नाका खुलाउने सरकारको निर्णय सुनेर नेपालबाट भारत जाने तथा भारतबाट नेपाल आउने सयौं मानिसहरु अहिले पनि नाकाबाटै फर्कन थालेका छन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णय एक हप्ता बित्न लाग्दासम्म कार्यान्वयनमा आउन सकेको छैन् । सरकारको निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा यसले अन्यौल सिर्जना गरेको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनमा आए यो समस्या हल हुन सक्ने बुझाई सर्वसाधारणको छ । तर, निर्णय कार्यान्वयन नभएका कारण उनीहरु अन्यौलमा छन् ।
कोभिड १९ को संक्रमण दर निक्कै कम हुँदै गएपछि नेपाल सरकारले भारतसँग जोडिएका सबै सीमानाका खुलाउने निर्णय गरेपनि कार्यान्वयनमा नआएको कारण होटल व्यवसायीहरु मारमा परेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्षका सुरेशकुमार श्रेष्ठको भनाई छ ।
केहीदिनअघि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सबै सीमानाका खोल्ने भन्ने समाचार प्रकाशित भएपछि आम नागरिकमा अब नाका खुल्ने रहेछ भन्ने छाप परेको सुरक्षाकर्मीको भनाइ छ । समाचार आएपछि यसनाकाबाट आवतजावत गर्नेको प्रेसर रहेको र संख्या बढेको छ । तर, स्थानीय प्रशासनले सबै मानिसलाई भारततर्फ पठाउने गरेको छैन् । पत्रपत्रिकामा निर्णयको समाचार आए पनि आधिकारिकरुपमा कुनै लिखित तथा मौखिकरुपमा जानकारी नआएका कारण नाकाबाट सहजरुपमै आवतजावत गर्न नदिएको प्रहरीको भनाइ छ ।
नाकामा कुनै परिर्वतन नआएको ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्की(नेत्र)ले बताए । नाका सहज नहुदाँ दुवै देशका नागरिकले सास्ती ब्यहोर्नु परेको उनको भनाइ छ । सरकारले गरेको निर्णय लागू नहुदाँ स्थानीय चकित परेको उनको भनाइ छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?