झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य तथा पत्रकार पार्थ मण्डललाई समाचारको विषयलाई लिएर विद्यालयका प्रधानाध्यापकले लिखित स्पष्टीकरण सहित विद्यालयमा हाजिर हुन भनी पत्र काटेको विषयप्रति पत्रकार महासंघसहित पत्रकारका संठनहरूले घाेर आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ झापा, प्रेस सङ्गठन झापा र प्रेस चौतारी झापाले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर कचनकवल गाउँपालिका-६ बनियानीमा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीको पत्रकार माथि ठाडाे घातक प्रहारकाे विरोध जनाएका हुन्।


पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी र सचिव उद्धव पुरी तथा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको निन्दा र कडा भर्त्सना गरिएको छ।


पत्रकार मण्डलले आफू कार्यरत सञ्चारमाध्यममा विद्यालयको भ्रष्टाचार : ऐन मिचेर टेन्डर, बोलपत्रदाताले बुझाए ज्ञापन पत्र भन्ने शीर्षकमा गत शनिबार समाचार लेखेका थिए। विद्यालयले दर्ता नै नभएको फर्मलाई टेन्डर स्वीकृत गरेपछि अन्य बोलपत्रदाता त्यसको विरोध उत्रिँदै कचनकवलको शिक्षा, युवा तथा खेलकुद शाखामा लिखित रुपमा ज्ञापन पत्र बुझाएपछि थाहाकर्मीले मण्डलले सोसम्बन्धी समाचार लेखेका हुन्।
उक्त समाचार सञ्चारमाध्यममा आएपछि प्रधानाध्यापक बुढाथोकीले विद्यालयको लेटर प्याडमा ‘विद्यालयमा आएर सम्पर्क गर्नुभन्दा भन्दै वास्तविक नबुझी समाचार प्रकाशन गरेकोमा सोसम्बन्धी लिखित स्पष्टीकरण पेस गर्नु हुन्’ भन्दै पत्र काटेर सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए।
पत्रकार महासंघ तथा सङ्गठनहरूले प्रधानाध्यापक बुढाथोकीको यस्तो कार्य अहमताको पराकाष्ठा भएको र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गरेका छन्। ‘प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा बहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पुर्याउने कार्य आफैंमा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो,’ सबै संगठनले निकालेको विज्ञप्तिमा यही आशय छ।
‘पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको निन्दा र कडा भर्त्सना गर्दछौँ। प्रेस स्वतन्त्रताविरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत गराइन्छ,’ यो पनि विज्ञप्तिहरूमा भनिएको छ।
समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रधानाध्यापक बुढाथोकीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिसहित सरोकारवाला निकायलाई महासङ्घसहित पत्रकारका सङ्गठनहरूले विज्ञप्तिमार्फत आग्रह गरेको छ। साथै, पत्रकारलाई निर्बाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएको छ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीलाई कडा कारबाही गर्न प्रेस क्लब भद्रपुरले माग गरेको छ । क्लबका अध्यक्ष गोविन्दचन्द्र छेत्री तथा महासचिव उत्तम नेपालद्वारा जारी विज्ञप्तिमा आफू नै सर्वेसर्वा भएको शैलीमा स्वतन्त्र प्रेसमाथि धावा बोल्ने प्रअ बुढाथोकीलाई स्थानीय प्रशासन मार्फत कडा कारबाहीको माग गरिएको हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ—प्रेस क्लब भद्रपुरका सचिव तथा भद्रपुरबाट प्रसारित टाइम अफ प्रदेश अनलाइन खबर पत्रिकाका सम्पादक पार्थ मण्डललाई लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन जारी गरेको पत्राचार गरेको विषयमा प्रेस क्लब भद्रपुरको गम्भीर ध्यानाकर्षण भएको छ । प्रअ बुढाथोकीले आफू नै सर्वेसर्वा भएको ठानेर सो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको धावा बोल्ने प्रयास भएको हाम्रो ठहर छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यस विरुद्ध कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सार्वजनिक निकायका रूपमा रहेको विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट आफू नै राज्य र कानुन भएको छनक दिँदै पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु तथा सो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु आफैँमा आपत्तिजनक अपराध उन्मुख प्रेस स्वतन्त्रता विरोधी काम हो । पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको प्रेस क्लब निन्दा र कडा भर्त्सना गर्दछ । यस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षलाई चेतावनी सहित सचेत गराइन्छ ।
समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रधानाध्यापक राजु बुढाथोकीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समिति, शिक्षा विकास समन्वय इकाई लाई प्रेस क्लब भद्रपुर विनम्र आग्रह गर्दछ । साथै पत्रकारलाई निर्बाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन जिल्ला स्थित प्रहरी प्रशासनलाई समेत ध्यानाकर्षण गराउँदछौँ भनिएको छ । यसैगरी खोज पत्रकारिता मञ्च चन्द्रगढीले पनि पत्रकारितामाथि धावा बोल्ने प्रयास गरेका प्रअ बुढाथोकीलाई कानुनी राज्यमाथि नजान चुनौती दिएको छ । मञ्चले विधि र प्रक्रिया नदेख्ने प्रधानाध्यापकको कार्य निन्दनीय भएको ठहर गर्दै यस्तो हर्क नगर्न चेतावनी समेत दिएको छ ।




