Logo

आज कूर्म जयन्ती

देश प्रदेश समाचार १२ जेष्ठ २०७८, बुधबार ०८:२७ मा प्रकाशित

पं.राजेन पाैडेल 

वैदिकसनातन धर्मानुसार र पञ्चाङ्ग अनुसार पर्व तथा जयन्तीहरु अथाह पाईन्छ । पञ्चाङ्ग अनुसार वैशाख शुक्लपूर्णिमालाई कूर्म जयन्तीका रूपमा उल्लेख गरिएको पाईन्छ । यसैदिन भगवान् विष्णुले कूर्म ( कछुवा ) को अवतार लिनुभएको ग्रन्थमा पाईन्छ । कूर्म अवतार बारे  संक्षेपमा चर्चा गरिन्छ ।
त्रेतायुगको कुरा हो कुनै समय ऋषि दुर्वासालाई भगवान् विष्णुको दर्शन गर्ने इच्छा भएछ । वैकुण्ठमा गएर भगवानसङ्गको दर्शन तथा भेटघाट भई उहाँबाट प्रसादस्वरुप एउटा माला प्राप्त गरेर आफ्नो आश्रमप्रती आउदै हुनुहुन्थ्यो । बाटोमा ऋषिको भेट स्वर्गका राजा ईन्द्रसंङ्ग भेट भयो । बढो ठाँटबाठसंङ्ग ऎरावत नामको हात्तीमा चढेर आएको इन्द्रलाई देखेर ऋषिलाई लागो कि यो माला भगवानको प्रसाद जो ऎश्वर्य प्रदान गर्छ, आफुलाई भन्दा देवताका राजा इन्द्रलाई पो बढी सुहाउने रहेछ । नितिले पनि यही भन्छ योग्य वस्तु योग्यलाई नै दिनुपर्दछ । यस्तो भावना राखेर ऋषिले त्यो माला देवराज इन्द्रलाई अर्पिदा भए । ऎस्वर्य र अहंकारलेयुक्त भएका इन्द्रलाई ऋषिले प्रसादको रुपमा दिएको माला त्यति गहिरिएर सम्हाल्ने होसै भएन । आफ्नो यात्राको क्रममा यस्ता माला त कती आउछन् कति भन्ने सम्झेर ऋषिले प्रदान गरेको मालालाई त्यत्तिखेरै हात्तीको शिरमा राखिदिए । हात्तीले पनि मालालाई सूँडद्वारा तलझारी सूँड र खुट्टाले टुक्रा-टुक्रा बनाइदियो । अलिक पर पुगेर मैले दिएको मालाले इन्द्रलाई कस्तो देखियो भनेर हेर्दा त मालाको टुक्रा-टुक्रा भएको देखेर ऋषिको मनमा दु:खको साथमा रिस पनि उठ्यो । अनि यस्तो दुर्ववहारको कारण के हुन सक्छ भनेर विचार गर्दा उनलाई लाग्यो कि ऎश्वर्यजन्य अहंकार नै यसको मूल कारण हो भन्ने बुझेर प्रमादजन्य रोगको उपचार व्यक्तिलाई श्रीहीन बनाउनु हो भन्ने ठानेर ऋषिले इन्द्रलाई तत्क्षण ´ऎश्वर्यहीन भईहालोस्` भनी श्राप दिए । त्यही समय स्वर्गका देवताहरु श्रीहीन हुदा भए ।
अर्काेतिर दैत्याचार्य शुक्रको संरक्षणमा बसेका बलिका शासनमा रहेका दानवहरुलाई यो कुरा थाहा भयो । अनि उनीहरूले यो मौकाको फाईदा उठाउन दलबलसहित बलिले स्वर्गमा हमला गरे । ऋषिद्वारा श्रापित इन्द्रादी देवताहरु बलिसहित दानवगणबाट पराजित भई स्वर्गको गद्दी गुमाउनुको साथमा श्रीहीन ( ऎस्वर्यहीन ) हुनपुगे । आफ्नो दुष्कर्मप्रती पश्चताप लिदै इन्द्र देवगणका साथमा गुफा, कुना-कन्दरा र जङ्गलतिर जीवनयापन गर्न बाध्य भए । इन्द्रलाई मनमनै लागिरहेको थियो कि सानो गल्ती, किञ्चित् मात्र शिष्टताको अपमान पनि जीवनमा कति दु:खद परिणामको कारण हुनसक्दो रहेछ ।  केही समय यसैगरी आफ्नो कारणप्रती दु:खलाई सहन गर्दै, फेरि यस्तो गल्ती दोहोरीन नदिने विचार मनमा लिदै समय बिताए । तर स्वर्गमा ऎस्वर्यले युक्त राजगद्दीमा बसि आनन्द लिएका इन्द्रलाई लामो समयसम्म अधिकाररहित भएर बस्न धेरै कष्टकर भयो । अब गुमेको स्वर्गको राज्य फेरि प्राप्त गर्न केही उपाय गर्नुपर्छ । जीवनमा कुनै पनि वस्तु प्राप्त गर्नको लागि परिश्रम विना सफल हुदैन भन्ने भावना जाग्यो । यस्तो दुरावस्थाबाट उम्कन के उपाय होला भन्ने सोचाइमा इन्द्र डुबे । इन्द्रलाई आपत् बिपत् पर्दा, त्यसबाट मुक्ति पाउनका लागी आफुभन्दा ठुला व्यक्ति, अनुभवी व्यक्तिहरुसंङ्ग सल्लाह, सुझाव लिनुपर्छ भन्ने भावना जाग्यो ।  इन्द्र देवगणका साथमा यो दु:खबाट मुक्तिको उपायको लागि ब्रह्माजीकहाँ पुगे । ब्रह्माजी ले भन्नुभयो- यसको उपाय त भगवान विष्णुवाहेक अरुसङ्ग सम्भव छैन भन्दै इन्द्रसहित देवगणलाई वैकुण्ठमा लगेर प्रार्थना गर्न लगाउनुभयो ।

देवताहरुले भने – हे भगवन् हजुर भूत, भविस्य, वर्तमान  यी तिनै कालमा एक समान रुपले विद्यमान,सबै प्राणीको हृदयमा निवास गर्ने, सम्पूर्ण प्राणीहरुको आधार हो हजुर । हामी हजुरको सात्त्वीक अंशबाट उत्पन्न भएका हौं । हजुर वाहेक हाम्रो लागि आश्रय दाता कोही छैन । यो समयमा हामी आफ्नै अहंकारले दुषित भई दानव कुलद्वारा परास्त बनि जंगलमा जीवन बिताउन बाध्य बनेका छौं । अभिमानी भई अपराध गरेका छौं प्रभु गल्तीलाई स्वीकार्दै शरणमा पर्न आएका छौं । यसतो अवस्थाबाट पार तर्न हजुरको कृपाविना हामीमा सामर्थ्य छैन त्यसैले हे प्रभु हामी पुकार गर्दै नतमस्तक बनेका छौं । यसरी इन्द्रादि देवगणले प्रार्थना  गरेपछि भगवान विष्णुले प्रत्यक्ष दर्शनले दिँदै भन्नुभयो – देवता हो तिमीहरु देखि म प्रसन्न भए । कुनैपनि कर्म गर्दा त्यसको सुधारका लागि श्रम, साधना र उपाय तिनै कुरा संयुक्तरुपमा गर्दै जानुपर्दछ । त्यसैले तिमीहरु पनि त्यसको लागि तयार हुनुपर्यो । अशक्त भई सधैँ अरूको आश्रयमा बसेर साध्य हुँदैन । त्यसैले तिमीहरु सशक्त हुनुपर्यो । स्वर्गका सम्पूर्ण ऎश्वर्यहरु तिमीहरुको हातमा छैन । त्यसैले त्यो ऎश्वर्य प्राप्त गर्न र अमृत पान गर्न बलशाली हुनुपर्दछ । समुद्र मन्थन द्वारा मात्र अमृत र ऐश्वर्य प्राप्त हुन्छ जो देव समुदायबाट सम्पन्न हुन सक्दैन । त्यसैले तिमीहरुले दानवहरुको को पनि सहयोग लिनु आवश्यक रहन्छ । यसका पछाडि भगवान विष्णुले समुद्र मन्थन कसरी गर्ने भन्ने क्रममा अर्थ्याउदै भन्नुभयो – समुद्र मन्थन गर्दा मन्दराचल पर्वत लाई मदानि बनाउने र बासुकी नागलाई नेती बनाउने काम गर्नुपर्दछ । मन्थन गर्दा पहिले नै अमृत या ऎस्वर्य प्राप्त हुन्छ भन्ने होइन, बिष पनि निस्कन सक्छ तर दु:खी हुनु हुँदैन । अर्को कुरा हे देवता हो ¡ समुद्रबाट वस्तु निस्कन्छ त्यसमा लोभ लालच हुनुहुँदैन । झगडा भयो भने बिचैमा कार्यसम्पादन हुन सक्दैन त्यसैले लोभ लालच नगर्नु । तिमीहरुको दुई समुदाय मिलेर मन्दराचल पर्वत र वासुकी नागलाइ ल्याएर बन्दोबस्त गर्यो भने आवश्यक सहयोगका लागि म पनि सहभागी बन्न आउनेछु । यसरी बैकुण्ठ नाथ भगवान विष्णुले युक्ति, बुद्धि र उपाय सिकाइ त्यहाँबाट अन्तर्धान हुनुभयो ।
तत्पश्चात  देवताका राजा इन्द्रले दानवहरुसित गएर सन्धिको प्रस्ताव राख्दै भन्नु भयो- हामी एउटै पिताका सन्तान भएर पनि परस्परमा वैरभाव राखेर कार्य गर्दछौं । यसतो एकआपसमा द्वेष भावना राख्नु राम्रो कुरा होईन । हामी अर्काको दृष्टिमा गिरी रहेका छौं। हामी मिलेर कहिल्यै पनि महत्वपूर्ण काम गर्न सकिरहेका छैनौं । सधैँ यो अवस्था हुनु उचित मानिँदैन । हामी एक आपसमा मिलेर समुद्र मन्थन गरौँ र त्यसबाट प्राप्त हुने अमृत पान गरेर अजर अमर बनौँ । यही प्रस्ताव लिएर हामी आएका हौँ  । यसअघि जेजे भए जस्तो जस्तो भयो त्यसलाई बिर्सेर हामी एउटै मञ्चमा बसौं र पुरुषार्थ गरौं । दानवहरूको राजा बलिलाई लाग्यो इन्द्रले ल्याएको सन्धि प्रस्ताव वेठिक होईन  ठिक्छ , अमृत पान गरी अमरत्व मिल्छ भने त्यसभन्दा बाहेक खोज्नु पो के छ र ? आसुरीपनले युक्त भएका दानवहरुले देवताको सन्धीको भित्री वस्तुहरू उनीहरुले बुझ्न चाहेनन् र स्वीकृतिको संकेत दिए । यसैअनुसार देवता र दानव समुद्रको किनारमा उपस्थित भई समुद्र मन्थन लागि अग्रसर बने । यसैगरी देवता र दानव ले वासुकी नागलाइ अमृत पान गराउने सर्तमा त्यहीँ ल्याउदा भए । त्यसपछि मन्दराचल पर्वत उठाउनको लागि  संयुक्तरुपमा दुवै पक्षको देवता र दानवहरु गए र भगवानको सहयोग र गरुडको सहयोगले मन्दराचल पर्वत लाई पनि समुद्रको किनारामा ल्याइयो । भगवानले भन्नुभयो – लौ अब मन्थन गर भनेर । यसबाट देवता र दानव हरुलाई उत्साह र उमंग भयो । अब त अमृत पान गर्न पाइने भयो भन्ने आशा बढ्यो । समुद्रमा पर्वतलाई स्थापित गरियो वासुकी नागलाइ नेति बनाइयो । भगवानको इच्छाअनुसार देवताहरूले हतार हतार गएर नागको शिरमा समाते, दानवहरुले पनि अहंकारले युक्त भएर भने हामी नागको अमंगल पुच्छरलाई छुदैनौं हामी पनि कश्यप का छोरा हौँ भनेर मन्थन नगर्ने भए । भगवानको इच्छाअनुसार देवताहरुले नागको पुच्छर तिर गएर समाते र दानवहरुले पनि नागको शिर स्वीकार गर्दा भए । स्वच्छन्द रुपले प्रसन्न भएर देवता र दानवहरु समुद्र मन्थन गर्दा भए । मन्दराचल पर्बतको पिँधमा ( तल्लो भागमा ) कुनै आधार नभएकोले बिस्तारै समुद्रमा डुब्न थाल्यो । मन्दराचल डुबेको देखेर देवता र दानव दुबैको मनमा निराशा छायो । दुवैथरीको अनुहार कालोनिलो भयो । अहिलेसम्मको परिश्रम व्यर्थ जाने भएकोले अत्यन्त चिन्तित भए । त्यस ठाउँमा वरिपरिबाट हेर्नेको मुखबाट रक्षा गर- रक्षा गर भनेको आवाज निस्कन थाल्यो ।

भगवान विष्णुले विचार गर्नुभयो- यस संकटको घडीमा मैले सहयोग गर्नुपर्छ भन्ने भावना जाग्यो । काम थियोे मन्दराचल पर्बत को तलको भाग देखि माथि उठाउनु पर्ने । यस कार्यको लागि उपयुक्त माध्यम थियो कछुवा । भगवान विष्णुले कछुवाको विकराल स्वरुप धारण गरी समुद्रमा गहि पीठको तल्लो भागमा अड्याई दिएर बिस्तारै पर्वतलाई उठाई दिँदा मन्दराचलको भाग्छ उठ्यो तर शरीरको भाग पनि झल्किने भएर भगवानले त्यसलाई अड्याउने काम गर्नुभयो । समुद्र भित्र कछुवा स्वरुप भगवान विष्णुको पीठ भागमा अडिएको मन्दराचल पर्वत देवता र दानव को दुईतिरको मन्थनले गर्दा पर्वत फनफनी नाच्न थाल्यो । पीठमा भएको मन्दराचल पर्वतको घर्षणले भगवान विष्णुलाई कष्ट नभई ढाडको चिलाई मरेजस्तो भएर निद्राले युक्त हुनुभयो । अर्को स्वरुप बनाएर देवता र दानवलाई मन्थनको लागि सहयोग गर्नुभई कालकुट विष र अनेक प्रकारका बस्तु र अमृत प्राप्त गराउनुभयो । त्यही समयमा मोहिनी स्वरूपलाई धारण गरी यथोचित अमृत पान गराई देवताः र दानवको बीचमा भीषण युद्ध भयो र देवताले स्वर्ग प्राप्त गरिएको कथन धर्मग्रन्थहरूमा पाइन्छ ।
बिशेष कूर्म अवतार समुद्र मन्थनको समय ठिक बैशाख शुक्ल पूर्णिमाको दिन कछुवा रूपमा अवतरित हुनुभएको थियो । हुन त यस संसारमा जलमा र स्थलमा बस्ने जीवहरु पाइन्छन् जो जलमा बस्ने प्राणी स्थलमा रहन सक्दैनन् भने स्थलमा रहने प्राणी जलमा बस्न सक्दैनन् । तर कछुवा जल र स्थल दुवै ठाउँमा रहन सक्ने प्राणी हो । यसैअनुसार कूर्मअवतारको महिमा वर्णन गर्न पुराणहरू मध्ये कूर्म पुराण पनि प्रसिद्ध छ । धर्म, अर्थ, काम, मोक्ष प्रदान गर्ने कूर्म पुराणमा 17000 शोकहरुले युक्त छ । जसलाई पढ्नाले र सुन्नाले भुक्ती र मुक्ति दुवै प्राप्त हुन्छ । यसरी हाम्रो धर्मशास्त्रमा लेखिए अनुसार कूर्म जयन्ती सम्बन्धी  छोटो परिचय गरिन्छ । अस्तु श्रीहरि: 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?