काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् ।
तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक क्षेत्रीले दुई जनालाई एक तह पदोन्नति र अन्य ५ अधिकृतलाई नगद पुरस्कार दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक ९असई० पदमबहादुर थापा प्रहरी नायब निरीक्षक ९सई० मा बढुवा भएका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । उनीहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, परिच्छेद ९४० को नियम ३९ को देहाय क बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको भनिएको छ ।
बढुवा गरिएका थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको हत्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको भनिएको छ ।
जवान नरबहादुरले भागरथी, दुई प्रहरीको हत्यासहित बझाङमा भएको सम्झना विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
भागरथी प्रकरणको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं अपराधस्थलमा खटिएका थिए । तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान सफल बनाउन भूमिका खेलेको भन्दै उनलाई नगद पुरस्कार दिइएको छ ।
पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर छन् ।
पाँचै जनाले भागरथी प्रकरणको अनुसन्धानमा देखाएको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को परिच्छेद १५ को नियम १९७ को देहाय क बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
अनलाइन खबरबाट




