भद्रपुर । झापाको भद्रपुर स्थित मेची नदीमा ८० लाख रुपैयाँको लागतमा विश्रान्ती घाट निर्माण भइरहेको छ । भद्रपुर ५ स्थित मेची नदीको पश्चिम तर्फ निर्माणाधीन दुइवटा वेदीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने मलामी भवन लगायत अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ ।
गत आर्थिक वर्ष ०७६।७७को प्रदेश सरकारका साँसद वसन्त कुमार वानियाबाट १० लाख र पूर्वाधार निर्माणबाट १५ लाखको प्राप्त भइ बेदीको काम भइरहेको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । त्यसैगरी नगर पूर्वाधार कार्यक्रम अन्र्तगत वडामा प्राप्त भएको ५५ लाख पुरै सो निर्माण कार्यमा लगाइने उनले जानकारी दिए ।

निर्माण कार्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरलाइ सो कामको अख्तियारी दिएको उनले जनाए । विनियोजित बजेटबाट मलामी बस्ने हल,खानेपानी,सौचाल लगायत आवश्यक पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । गएको ७७ जेठ महिनामा काम सम्पन्न गर्ने भनिएतापनि कोभिडका कारण काम सम्पन्न गर्न नसकिएपछि यही पुस मसान्तसम्म म्याद थप गरिएको उनले बताए ।





