काठमान्डाै । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीयकमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सँगै अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।
बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।




