भद्रपुर । सशस्त्र प्रहरी वाहुनडाँगी विओपीले तीन महिनाको अवधिमा २३ लाख रुपैयाँ भन्दा बढीको अवैध सामग्री बरामद गरेको छ । विओपीमा ०७६ भदौ महिनामा कार्यभार सम्हालेपछि अवैध गतिविधि रोक्नका लागि अभियान नै बनाएर लागेका इन्सपेक्टर भीष्म सापकोटाको नेतृत्वमा सामान बरामद गरिएको हो ।
झापाको उत्तरी क्षेत्र तिरीङ्,सारु गौडा,देवीगञ्ज लगायतका नाकाबाट हुने अवैध धन्दामा सशस्त्र प्रहरीले सकृयता देखाएको थियो । चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्कलाइ केलाउँदा उल्लेखिय मात्रामा राजस्वमा बृद्धि भएको सापकोटाको भनाइ छ ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४।७५ मा २ लाख ६७ हजार ९ सय ४० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ०७५।७६ मा ७ लाख ५० हजार ६ सय ४४ रुपैयाँ उठाएको प्रहरीले गत आर्थिक वर्ष ०७६।७७ मा भने केही कम भइ ७ लाख ११ हजार १ सय ५५ सङ्कलन गरेको उल्लेख छ । यता चालु आर्थिक वर्षको भदौ देखी मङ्सिर १४ सम्ममा २३ लाख ९० हजार २ सय ५५ रुपैयाँ राजस्व सङ्कलन गरिसकेको सापकोटाले बताए । अभियान अन्र्तगत भदौमा ३ लाख २० हजार १ सय २५रुपैयाँ, असोजमा ५ लाख १२ हजार ७ सय ५० रुपैयाँ, कात्तिकमा ३ लाख ९७ हजार ४ सय ३० रुपैयाँ गरीएको उनले जनाए । यी क्षेत्रबाट सुपारी,मटर, लत्ताकपडा सुर्तीजन्य पदार्थको तस्करी हुदै आएको उनले बताए । प्रहरीले सकृयता देखाएपछि हाल सो क्षेत्रबाट तस्करी बन्द भएको उनको दावी छ । सो क्षेत्रबाट ओरियन्स कम्पनीका सामानहरुको अवैध धन्दा हुने गरेको गस्ती टोलीले फेला पारेपछि आइतबार विहान ११ बजे ११ लाख २३ हजार मूल्य बराबरको सामान बरामद गरिएको उनको भनाइ छ । भारतबाट टाउकोमा राखेर नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीलाइ देखेर भागेपछि मेचीनगर नगरपालिका १ स्थित देवीगञ्ज इलाकाबाट सामान बरामद गरिएको उनले जनाए । बरामद सामानलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जानकारी दिए ।


झापाका सवै नाकाहरुमा सशस्त्र प्रहरीको सकृयता रहेको सशस्त्र प्रहरी गण नम्बर २ झापाका एसपी रमेश कुमार पाण्डेले बताए । वाहुनडागी क्षेत्रबाट उल्लेखिय मात्रामा राजस्व सङ्कलन भइरहेको उनको भनाइ छ । एक हप्ताकाे अविधमा झापाका विओपीबाट १८ लाख ९८ हजार २१ रूपैयाँ राजस्व सङ्कलन गरिएकाे उनले जनाए ।
अर्को तर्फ प्रस्तावित विओपी तिरिङ् स्थापनाका लागि जग्गा प्राप्ती भइसकेकोले भवन निर्माण सुरु गरिएको हुदा थप सो क्षेत्रमा अवैध गतिविधि नियन्त्रण हुने उनले दावी गरे । 




