भद्रपुर । सञ्चारमाध्यमका लागि २६ लाख रुपैयाँ खर्च गरेको आफुलाइ थाहा नभएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जनाएका छन् । उनले कुन कुन मिडियाले के शीर्षकमा रकम लगेको हो भनेर आफूले खोजी गर्ने बताए । झापाको हल्दीबारी गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चारमाध्यमका लागि उल्लेखित रकम खर्च गरेको सार्वजनिक भएको छ । फजुल खर्च कटौती गरेको बताउने गाउँपालिकाले विभिन्न पत्रपत्रिका, एफएम र अनलाइनहरूमा सूचना र समाचार प्रकाशन प्रसारण गरेवापत् त्यति ठुलो रकम खर्च गरेको हो । गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले वर्षभरि प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरिएको बताए । गाउँपालिकाबाट स्थानीयसँगै राष्ट्रिय स्तरका मिडियाले पनि रकम लगेको देखिएको छ ।
चालु खर्च बढी भएको जनगुनासो आएपछि गाउँपालिकाले यस वर्ष त्यस खर्चमा ६५ लाख रुपैयाँ कटौती गरेको हो । कर्मचारीको भत्ता, इन्धन , कार्यक्रम खर्च , बैठक भत्ता , वडा कार्यालयहरूको मसलन्द खर्च घटाइएको कार्यालयले जनाएको छ । गत वर्ष हल्दीबारी गाउँपालिकाको चालु खर्च ५ करोड रहेको थियो । यस वर्ष त्यसलाई ४ करोड ३५ लाख रुपैयाँमा झारिएको छ ।




