Logo

आँखा पाक्ने राेग बढेसँगै विद्यालय धमाधम बन्द हुँदै

देश प्रदेश समाचार १८ श्रावण २०८०, बिहीबार १९:२२ मा प्रकाशित

झापा केहिदिन यतादेखि आँखापाक्ने राेग तिब्र गतिमा फैलिन थालेपछि झापाकाे विर्तामाेडका केहि विद्यालय बन्द हुन थालेका छन् ।

बिर्तामोड- ७ मा रहेकाे कंचन इङ्लिस सेकेन्डरी स्कूलले विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या देखापरेपछि विदा दिएको हो । विद्यालयले बिहीबार सूचना प्रकाशित गरी विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखापरेको भन्दै साउन १९ गते एकदिन पठनपाठन नहुने जानकारी गराएको छ । कक्षा नर्सरीदेखि १० सम्म अध्ययन हुने सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । त्यसमध्ये ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको विद्यालयका संचालक डिल्लीराम चम्लागाँईले बताए । उनले आफूसहित चारजना शिक्षकलाई पनि सो समस्या देखिएको जानकारी दिए ।

धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिएपछि बिर्तामोड -६ मा रहेकाे सरस्वती एन्जल इङ्लिस स्कुलले पनि विदा दिन लागेको जनाइएको छ । त्यस्तै बिर्तामोड ५ स्थित टावर टेम्पल स्कुलले पनि विदा दिनका लागि अनुमति मागेको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिन सल्लाह दिएको जानकारी दिए । विद्यालयहरुमा विद्यार्थीहरुको जटिलतालाई हेरेर आइतवार नगरभरिका विद्यालयमा बिदा दिने विषयमा सल्लाह भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले जानकारी दिए । झापामा यतिबेला आँखा पाक्ने रोगबाट धेरैजना प्रभावित भएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?