Logo

मेची भन्सारबाट जाँचपास भएर निस्किएकाे कन्टेनर प्रहरीले समात्याे

देश प्रदेश समाचार १३ श्रावण २०८०, शनिबार २१:३२ मा प्रकाशित

झापा मेची भन्सार कार्यालय काकडभिट्टाले साउन १ गते देखि राजश्व संकलनमा कमी आएकाे भन्दै भारतबाट ल्याउने सामानमा १०० रुपैँया भन्दा माथि भए अनिवार्य भन्सार काट्नु पर्ने नियम बनाए पनि भन्सार भित्रकै कर्मचारीकाे मिलेमत्ताेमा कराेडाै रुपैँयाकाे सामान राजश्व छलि गरेर बाहिरिने गरेकाे छ ।

दैनिक उपभाेग्य सामान ल्याउने सर्वसाधारणकाे लागि नियम कडाइ गरेर आर्थिक भारकाे मारमा परिरहेकाे अवस्थामा मेची भन्सार कार्यालय परिसरबाटै जाँचपास भएर निस्किएको एक करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेपछि अहिले भन्सार माथि नै पारदर्शिताकाे बारेमा शङ्का देखिएकाे छ ।

घटना विवरण अनुसार भन्सारबाट जाँचपास भएर निस्किएको एउटा कन्टेनरभित्र भन्सार तिरेको भन्दा बढीको सामान रहेको प्रहरीलाई सूचना आयो। घटना शुक्रबार साँझ ५ बजेर ५५ मिनेटको हो । त्यही समयमा भन्सारको दुई नम्बर गेटबाट ना ६ ख ४९०२ नम्बरको कन्टेनर बाहिर निस्कियो। कन्टेनर निस्किएपछि प्रहरीले त्यसलाई पच्छ्याउन थाले । भन्सारदेखि केही पर पुगेपछि चालकले कन्टेनरलाई मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैको सडक किनारमा पार्किङ गरी राखे र चालक एकाएक बेपत्ता भए ।

प्रहरी टोली कन्टेनरको चालक आउँछ भनेर पर्खिबसे । दुई घण्टा बितिसक्दा पनि चालक नआएपछि त्यहाँका खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीलाई घटनास्थल बोलाए ।

त्यसपछि डीएसपी भारतीको नेतृत्वमा कन्टेनरलाई राती ९ बजे नियन्त्रणमा लिएको जनाइएको छ । कन्टेनरको चालक बस्ने सिटमा प्रहरीले एउटा भन्सार प्रज्ञापन पत्र भेट्टाएको थियो । सो प्रज्ञापन पत्रमा स्वाभिमान सन्स् एन्ड सप्लायर्स कम्पनीको नाम उल्लेख छ ।

सो प्रज्ञापन पत्रमा भन्सार एजेन्ट ढकेन्द्र कार्कीको नाम लेखिएको छ । स्वाभिमान सन्स् एन्ड सप्लायर्सले १५ ब्याग, २५ कार्टुन र ३० कार्टुन वस्तु भन्सार प्रज्ञापन पत्रमा लेखिएको प्रस्ट देखिन्छ । कन्टेनरभित्र १६५ कार्टुन र दुई हजार ४६५ केजी ब्याग फेला परेको छ । ‘प्रहरीले कन्टेनर नियन्त्रणमा लिए पनि सामानको दाबी गर्न कोही सम्पर्कमा आएन,’ डीएसपी रिजालले भने, ‘कोही सम्पर्कमा नआएपछि शिलबन्दी बिनाको कन्टेनर शनिवार बिहान हामीले खोलेर चेकजाँच गरेका थियाैं ।’कन्टेनरमा ७२ हजार मूल्यको ६० कार्टुन कोको जिल(हुक्कामा प्रयाेग हुने काेइला), २० लाखको ८० कार्टुन हुक्कामा प्रयोग हुने अफजल फ्लेभर, ७३ लाख ९५ हजार बराबरको २ हजार ४६५(२६बाेरा) केजी काँसको झ्याम्टा र १२ हजार ५ सयको २५ कार्टुन भाडा माझ्ने टेलीफोन साबुन थियो ।

१ करोड १ लाख २७ हजार ५०० काे सामान र २५ लाखको कन्टेनरसहित १ करोड २६ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय बुझाइसकेको डीएसपी रिजालले बताए ।

रिजालले भने,’सो कन्टेनर भन्सारभित्रबाटै बाहिर आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, प्रज्ञापनपत्रमा लेखिएको भन्दा धेरै सामान फेला परेपछि त्यो अवैध हो, कन्टेनर पनि शिलबन्दी थिएन, यस बारेमा थप अनुसन्धान गरिरहेका छौँ ।’

व्यापारी स्रोतका अनुसार सो सामान धुलाबारीका व्यापारी पीयूषको रहेको बताए । भन्सारबाट सामान धुलाबारीसम्म पुर्‍याउने र त्यहाँबाट देशका विभिन्न बजारमा सप्लायर्स गर्ने व्यापारीको योजना थियो । व्यापारीले सो सामान भारतबाट आयात गरी भन्सारको गोदाममा ल्याएर राखेका थिए । एजेन्टमार्फत सेटिङ मिलाएर कम परिमाण देखाएर बढी परिमाणको सामान कन्टेनरमा हालेर लैजान खोज्दा प्रहरीले समात्यो ।

यता मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार व्यापारीले एजेन्टमार्फत १ लाख ५६ हजार भन्सारमा राजश्व तिरेर शुक्रबार बेलुका सो सामानमा कन्टेनरमा हालेर लगेको बताए । ‘कन्टेनरभित्र के कस्तो सामान थियो, त्यो हामीलाई थाहा छैन,’ उनले भने, ‘भन्सारले हुक्कामा प्रयोग हुन फेलेभर, काँसको झाम्टा लगायतको सामान राजश्व तिरेरै पठाएको हो ।’ ‘काँकडभिट्टाकै स्थानीय व्यापारीको सामान भएकोले कन्टेनर शिलबन्दी गर्नुपर्दैन र गरिँदैन पनि,’ उनले भने, ‘काँकडभिट्टा भन्दा बाहिरका कन्टेनरको हकमा मात्र शिलबन्दी गरी पठाइन्छ ।’ प्रहरीले समातेको कन्टेनर ट्रान्सपोर्टको रहेको बुझिएको छ । त्यस बारेमा प्रहरीले अनुसन्धान गर्दै होलान् । तर, भन्सारबाट गल्ती नभएको उनको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?