काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार सामाजिक संजालमा लेख्दै प्रमुख साहले विद्यालय शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल जस्ता पठनपाठनमा अवरोध गर्न प्रकृतिका कार्य गर्न नपाइने बताएका हुन् ।

उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई पठनपाठन नियमित राख्न पनि निर्देशन दिएका छन् ।
सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत विद्यालय कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
प्रमुख साहले शिक्षक वा कर्मचारी विद्यालयमा अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने कडा चेतावनी दिएका छन् ।
विद्यालय व्यवस्थापन समिति विघटनदेखि बल प्रयोग गरी विद्यालय बन्द गर्न खोजे फौजदारी मुद्दासम्म चलाउने चेतावनी पनि प्रमुख साहले दिएका छन् ।
(यस्तो छ मेयर साहको स्टाटस)
मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ । नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध छ ।
साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ । काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुनेछ ।
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।




