भद्रपुर । झापा भद्रपुर नगर क्षेत्र भित्रका विभिन्न विधाका खेलाडीलाई टिकाइ राख्ने उद्देश्य राखेर भद्रपुरमा प्रथम चन्द्रगढी साँस्कृतिक तथा साङ्गितिक महोत्सव हुने भएको छ ।
यहि जेठ २८ देखि २०८० असार ९ गतेसम्म भद्रपुर ८ स्थित मेची रङ्गशाला नजिकै रहेको जिल्ला समन्वय समितिको जग्गामा महोत्सव सञ्चालन हुने भएको हो । विहानै उठौँ मेची रङ्गशालामा जुटौँ, स्वस्थ्य रहौँ भन्ने उदेश्य लिएर केही वर्षयताबाट सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको चन्द्रगढी भिट्रन्स क्लबको आयोजनामा महोत्सव सञ्चालन हुने भएको आयोजकले जानकारी दिएको छ ।
क्लबका सचिव भुपाल कार्कीले दिएको जानकारी अनुसार झापा सदरमुकाम क्षेत्रका खेलाडीलाई बचाइ राख्न मेलाको आयोजना गरिएको उनले जनाए । मेलाको बचत रकमबाट क्लबको कोषलाइ बृद्धि गर्दै खेल क्षेत्रमा रकम लगानी गरिने उनले जनाए । प्रशासनले दिएको सर्त अनुसार मेला सञ्चालन गरिने उनले दाबी गरे । जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर आयोजना गरिएको महाेत्सवमा नियम उलङ्घन नगरि शान्त बातावरणमा सम्पन्न गरिने उनले जनाए ।
महोत्सवमा रोटेपिङ्, नाउ, ड्रागन, चिल्ड्रेनपार्क जस्ता रमाईलो खेलहरु रहने क्लबका सदस्य बिकी जैसवालले जानकारी दिए । देशका स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति रहने उनले बताए । महोत्सवमा २० वटा भन्दा माथि व्यापारका विभिन्न स्टल रहेने उनले जनाए । स्टललाइ निर्माणाधीन जिपी भवनको भूई तलालाइ प्रयोग गरिने जनाइएको छ । बचेको रकममध्ये केही दिन दुखीलाइ सहयोग , खेलाडीलाइ आवश्यक सामग्री खरिद लगायत सामाजिक कार्यमा समेत सहयोग गरिने जनाइएको छ ।
महोत्सवको उद्घाटन भद्रपुर क्रिकेट सङ्घका अध्यक्ष तथा उद्योगी आदित्य पराजुलीले गर्ने आयोजकले जनाएको छ ।




