Logo

पुहाँतु जनज्योतिमाविका स्थायी ५ जना शिक्षकले गरे विना सर्त ४० दिनमा हाजिरी

देश प्रदेश समाचार १६ जेष्ठ २०८०, मंगलवार १५:११ मा प्रकाशित

फायल तस्वीर

भद्रपुर झापा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा उत्पन्न विवाद ४० दिनमा साम्य भएको छ । कानूनको धज्जी उडाउँदै पाँचजना स्थायी शिक्षकलाई हाजिर हुन नदिएकोे विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेका कारण समस्या उत्पन्न भएको थियो ।
विद्यालय व्यवस्थापन समिति र पाँचजना स्थायी शिक्षकबीच विवाद वढदै गएपछि झापाका प्रमुख जिल्ला अधिकारी,शिक्षा विकास तथा समन्वय इकाइ र भद्रपुर नगरपालिकाको दबाबपछि मङ्गलबारबाट विद्यालयमा शिक्षकले हाजिर गरेका छन् । व्यवस्थापन समितिले मावि तहका शिक्षक श्रीजना प्रसाई, कमला राई, सहित शिक्षकहरु सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई विद्यालयमा वैशाख ५ गतेबाट हाजिर हुन दिएको थिएन ।
विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई समेत उल्लङ्घन गर्दै आइरहेको थियो । व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई उल्लघङ्न गर्दै शिक्षकलाई हाजिर हुन दिएका थिएनन । उत्पन्न विवादपछि भद्रपुर नगरपालिका कार्यालयमा वैशाख १२ गते भएको सहमति अनुसार शिक्षकलाई हाजिर हुन नदिएको विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले वैशाख २० गते पत्र नै लेखेर शिक्षकलाई हाजिर गराउन भने पनि व्यवस्थापन समितिका अध्यक्ष मिश्रको ठाडो निर्देशनमा विद्यालयका पाँच जना शिक्षकलाई हाजिर गराएका थिएनन ।
वर्तमान कानूनले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ र अभिलेखिकरण सहित प्रशासनिक काम शिक्षा समन्वय ईकाईले गर्छ तर यी दुवै निकायको निर्देशन मान्दिन भन्दै व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताउँदै आएका थिए ।
विद्यालयमा भएका दुवै पक्षका गतिविधिमा समिक्षा गर्दै विना सर्त हाजिर गराइएको व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताए । दुवै पक्षको तालमेल र बुझाबुझ नभएका कारण यतिदिन लम्बिएको उनले बताए । मेयर साहेवले समय नदिएका कारण मात्र अवधि बढेको उनको भनाइ छ । हाजिर गरेर सहजरुपमा कक्षा सञ्चालन भइरहेको उनले बताए ।
सहमति भएअनुसार लिखित पत्र लिएर विद्यालय गएपनि हाजिर नगराएको विद्यालयले ४० दिनमा हाजिर गराएको शिक्षिका प्रसाईले बताइन् । हाजिर गरेर सहजरुपमा पठन –पाठन गराउँदै आइरहेको उनले बताइन् । हाजिरमा कुनै सर्त उल्लेख नगरिएको उनले जानकारी दिइन् ।
विगतमा भएका विषयलाइ समिक्षा गर्दै हाजिर भएको भद्रपुर नगर शिक्षा शाखा प्रमुख प्रेम बहादुर भुजेलले बताए । विना सर्त शिक्षकहरु हाजिर भएको उनको भनाइ छ ।
विद्यालयमा मावि शिक्षक हँुदा हुँदै अध्यक्ष मिश्रकै जोडबलमा कानून विपरित निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्थापन समितिले २०७८ फागुन १२ गते निर्णय गरेको थियो । उक्त निर्णय विरूद्ध मावि तहकी शिक्षिका प्रसाईले उच्च अदालत इलाम ईजलासमा ०७९ असोज ४मा रिट हालेकी थिइन् । उत्त रिटमा अन्तरिम आदेश जारी गर्दै अदालतले पोखरेललाई निमीत्त प्रधानाध्यापकका रूपमा काम नगर्नु भनेको थियो । अदालतको अन्तरिम आदेश पछि मावि तहकी बरिष्ठतम शिक्षिका कौशल्यादेवी आचार्यलाई व्यवस्थापन समितिले २०७९ असोज ३० गते प्रधानाध्यापक नियुक्त गर्ने अर्को निर्णय गरेको थियो । विद्यालयले मावि तहकी बरिष्ठतम शिक्षिका आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेको निर्णय अदालतमा पठाए पछि सो सम्बन्धीको रिट अदालतले ०७९ पुस १२ मा खारेज गरेको थियो । रिट खारेज भइसकेपछि पाँच जना शिक्षक शिक्षिका विद्यालयमा सहजरुपमा अध्यापन गराउन थालेका थिए । तर व्यवस्थापन समितिको निमावि तहका शिक्षक पोखरेललाई प्रधानाध्यापक बनाउने निर्णय नमानेको र अदालतमार्फत निर्णय उल्टाएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष मिश्र र शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्ञानेन्द्र कटुवालले शिक्षक प्रसाई र अधिकारीलाई हाजिर हुन रोक लगाएका थिए । शिक्षक प्रसाई र अधिकारीलाई साथ दिंदै अन्य तिन शिक्षिका राई, पौडेल र अधिकारीले हाजिर नगरी व्यवस्थापन समितिलाई सबैलाई हाजिर गराउन दबाब दिंदै आएका थिए ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?