Logo

भद्रपुर भन्सार मुआब्जाका लागि १० करोड विनियोजन

देश प्रदेश समाचार १ जेष्ठ २०८०, सोमबार २१:२४ मा प्रकाशित

भद्रपुर लामो समयदेखि मुआब्जा नपाएका भद्रपुर भन्सार मुआब्जापीडितको लागि १० करोड रकम विनियोजन भएको छ ।
अर्थमन्त्रालयले पीडितहरुको लागि यो वर्ष १० करोड बजेट विनियोजन गरेपछि पीडितले न्याय पाउनेको सुरुवात भएको हो ।
एक महिना अघि नेपाली काँङग्रेसका नेता कृष्णप्रसाद सिटौलाको समन्वयमा अर्थमन्त्री प्रकाशरण महतसँग भद्रपुर नगरप्रमुख गणेश पोखरेलसहित भद्रपुरका सरोकारवालाले अबिलम्ब मुआब्जा वितरण गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । मुआब्जापीडितको न्यायका लागि भन्दै नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, उद्योग वाणिज्य महासङ्घ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, झापा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, काँङ्ग्रेस नेता श्याम सिटौला, उद्योगी सुरेशकुमार मित्तललगायत भद्रपुर नगरक्षेत्रका सरोकारवाला व्यक्तिहरूको टोली अर्थ मन्त्रालयमा पुगेको थियो ।
टोलीले दुई किस्तामा भएपनि मुआब्जाको रकम अबिलम्ब वितरण गर्न अर्थमन्त्रीलाई दबाब दिएको थियो । साना घर जग्गावाला व्यक्तिको मुआब्जा रकम पहिलो किस्तामा भुक्तानी गर्न माग गर्दै बाँकी ठूलाको दोस्रो किस्तामा रकम दिएर भएपनि समस्या सुल्झाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइए बमोजिम रकम विनियाेजन भएको नगरप्रमुख पोखरेलले जानकारी दिए । यो वर्ष बजेट अभाव देखिएकोले पहिलो किस्ता स्वरुप अर्थ मन्त्रालयले १० करोड सोमबार विनियोजन गरेको उनले बताए । अब मुअब्जा पाउने सुरुवात भएको उनको भनाइ छ । विनियोजित रकमलाइ जिल्ला प्रशासन र सरोकारवालाबीच छलफल गरी वितरण गरिने उनले जनाए । भन्सार कार्यालयले अधिग्रहण गरेको जम्मा १०९ वटा कित्तामा रहेको साढे ८ विगाह नम्बरी र बाँकी ऐलानीसहित १० विगाह जमिन लिने निर्णय गरेको थियो । जमिनको मुआब्जा तथा क्षतिपूर्ति वापत करिब ६० करोड रुपैयाँ वितरण गर्ने भएको छ । भन्सारले जमिन रोक्का राखेको २८ महिनापछि सो रकम निर्धारण गरेको जनाएको छ । झापा भद्रपुर ५ मा रहेको भद्रपुर भन्सार स्तरोन्नति गर्न भन्दै ०७७ साउन २७ गतेदेखि जिल्ला मालपोत तथा भूमि सुधार कार्यालयमा जमिन रोक्का राख्ने पत्रिकामा सुचना प्रकाशित गरेको थियो । जमिन रोक्का राखेपनि मुआब्जा निर्धारणमा ढिलाइ गरेपछि जग्गाधनी विचल्लीमा परेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?