भद्रपुर । सशस्त्र प्रहरीले २ सय २७ किलो प्रतिबन्धित लागूऔषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा वेश धरानबाट डिएसपी सुरज रिजालको नेतृत्वमा खटिएको ७ जनाको टोलीले गाजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।
विहीबार विहान १ बजे धनकुटबाट धरानतर्फ आउदै गरेको प्र १–०२००१ ख ९४८९ न.को टाटा मिनी ट्रकमा गाजा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धरान १३ शिवधारा चेकपोष्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले शङ्का लागि चेकजाच गर्ने क्रममा धनकुटाको छथर जोरपाटी गाउँपालका घर भई हाल सिँधुवा वडा नम्बर ६ बस्दै आएका ३४ बर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम ओख्रे गाउँपालिका २ का २८ बर्षीय चुडामणि कटुवाललाई २ सय २७ किलो प्रतिबन्धित लागूऔषध गाजासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।
पक्राउ परेकाहरुका साथबाट शसस्त्र प्रहरीले ६० हजार नगद र २ थान मोवाइल समेत फेला पारेको छ । गाजासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको उनले जानकारी दिए ।





