झापा ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि झापामा १५ हजार ८५८ परीक्षार्थी सहभागी हुँदैछन् ।
आजबाट हुने एसईईका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विश्वकर्माले बताए ।

इकाइ प्रमुख विश्वकर्माका अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । इकाइले झापामा ५६ वटा परीक्षाकेन्द्र तोकेको छ ।
नियमिततर्फ ७ हजार ६७२ छात्रा ७ हजार ५४ छात्र गरी १४ हजार ७२६ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराउन लागिएको विश्वकर्माले बताए । नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी तीन धारमा विभाजन गरिएको हो ।
प्राविधिकतर्फ छात्रा २४६ र ३५३ छात्र गरी ५९९ जना परीक्षार्थी सहभागी हुँदैछन् भने ग्रेडबृद्धितर्फ छात्रा ३१३ र छात्र २२० गरी ५३३ विद्यार्थीले परीक्षा दिँदैछन् । त्यस्तै खुल्लातर्फ छात्रा २४ र छात्र १८ जनाले परीक्षा दिँदैछन् ।
परीक्षामा ३ जना दृष्टिविहीन र संस्कृततर्फ ४७ जना सहभागी हुँदैछन् । परीक्षा सम्पन्न गराउन ५६ जना केन्द्राध्यक्ष , १०४ जना सहायक केन्द्राध्यक्ष , ७९७ जना निरीक्षक , १५८ जना परीक्षा सहायक र ३१७ जना कार्यालय सहयोगी परिचालन गरिएको विश्वकर्माले जानकारी दिए ।




