विराटनगर । प्रदेश १ मा माओवादीका एक सांसदले पार्टी हितविपरीत काम गरेको आरोप लागेकाे छ ।
मोरङ ६ को १ बाट प्रदेश सभामा निर्वाचित जीवन आचार्य स्वयंले नै प्रदेश सरकारको नेतृत्वमा माओवादीभन्दा बाहिरबाट हुनुपर्ने लबिङ गर्दै एमाले नेतृत्वमा सरकार बने आफू मन्त्री हुन सजिलो हुने भन्दै ‘पार्टी हितविपरीत काम गरेको’ आरोप लागेको छ।

हामी हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने प्रयासमा छौं’, माओवादी प्रदेश १ संसदीय दलका एक सदस्यले भने ‘तर, उहाँ आफू मन्त्री बन्न नेतृत्व एमालेलाई दिनुपर्छ भन्ने लबिङमा हुनुहुन्छ। व्यक्तिगत अवसरका लागि उहाँले हेडक्वार्टरमा यही लबिङ गर्नुभएको छ। यो पार्टी हित विपरीतको काम भइरहेको छ।’
आचार्यनिकट रहेका मोरङ माओवादीका नेताहरूले पनि प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र जीवन आचार्य मन्त्री बन्ने पक्का भएको बताएका छन्।
प्रदेश १ को माओवादी संसदीय दल तथा प्रदेश कमिटीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। इन्द्र आङ्बो दलको नेता भएलगत्तै प्रदेशको सरकारमा दाबी गर्ने माओवादी निर्णय भएको थियो। तर, पार्टी निर्णयको विपक्षमा आचार्यले प्रचण्डलाई उपयोग गर्न खोजेको भन्दै माओवादीभित्र असन्तोष चुलिएको हो।
माओवादी स्रोतका अनुसार एमालेबाट मुख्यमन्त्रीका दाबेदार हिक्मत कार्कीसँग प्रचण्डका ज्वाइँ आचार्यले दुई दिनअघि भेट गरेका छन्। त्यसक्रममा उनले प्रदेश १ मा एमालेकै नेतृत्व हुने र त्यो टिममा आफूलाई समेट्नु पर्ने बताएका छन्।
‘यहाँ मुख्यमन्त्री बन्ने तपाईं नै हो’, आचार्यले कार्कीलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसका लागि मैले गर्ने पहल गरिरहेको छु। तर, टिम (मन्त्रिमण्डल) मा मलाई समेट्नुपर्छ।’
आफूले अध्यक्ष प्रचण्डसामू त्यही पहल गरिरहेको र प्रचण्डको पनि सोही अनुसारको भनाइ रहेको आचार्यले बताएको स्रोतको भनाइ छ।




