झापा । भारतबाट तस्करी गरेर नेपालका तस्करले लुकाइ छिपाइ राखेको २० लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
प्रहरीले शनिबार विहान ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञान कुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर ८ खडिया बस्ती स्थित सडक छेउमा रहेको नरबहादुर कुँवरको खाली गाईगोठमा सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याई वेवारिसे अवस्थामा छाडी राखेको १९ पोका कपडा र २ पोका गाडीको पार्टसहरु बरामद गरिएको डिएसपी पाठकले जनाए ।
बरामद गरिएका सामग्रीको अनुमानित २० लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागी मेचि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको उनले जानकारी दिए ।
प्रहरीले बरामद गरेको सामान झापाका नाम चलेका कारोबारी भिम नाम गरेका व्यक्तिको भएको स्रोतले जनाएको छ । ती समूहले पशुपति नगर,काँकडभिट्टा लगायतका नाका प्रयोग गरेर राजस्व छलि गर्दै आइरहेको समेत जानकारीमा आएको छ ।





