Logo

मंगलबारसम्मकाे मत गणनामा ७ दलले राष्ट्रिय मान्यता पाउने

देश प्रदेश समाचार १३ मंसिर २०७९, मंगलवार २०:२५ मा प्रकाशित

काठमान्डाैं । मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधसभा र प्रदेशसभाकाे निर्वाचनमा मंगलबारसम्काे मत परिणाममा ७ दलले मात्र राष्ट्रिय मान्यता पाउने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ  मंगलबार साँझसम्म ९८ लाख ८ हजार ९ सय २७ मत गणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको छ ।  नेपाली कांग्रेसले २४ लाख ९८ हजार ७ सय ७८ मत प्राप्त गरेर दाेस्राे स्थानमा छ ।

नेकपा (माओवादी केन्द्र) ले ११ लाख २७ हजार ७ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ५ सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५९ हजार २ सय २५, जनता समाजवादी पार्टी नेपालले ३ लाख ७६ हजार ८ सय ६८, जनमत पार्टीले ३ लाख ३३ हजार ४ सय ९३, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ७६ हजार ९ सय ११ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ८३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

यस निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिकदल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अहिलेसम्म ९८ लाख ८ हजार ९ सय २७ मत गणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतमा तीन प्रतिशत भन्दा बढी मत कटाएका छन् । पछिल्लो मतगणनाको तथ्याङ्कको आधारमा नेकपा (एकीकृत समाजवादी) २ लाख ७६ हजार ९ सय ११ र राष्ट्रिय उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ८३ मत प्राप्त गरेका छन् ।

२०७४ मा पाँच राष्ट्रिय दल

विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांगे्रस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांगे्रसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले छ स्थान र सङ्घीय समाजवादी फोरम नेपालले छ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?