काठमाडौं । बैंकहरुकाे कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।
बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि थपिंदा ब्याजदर बढेर १७ देखि १८ प्रतिशतसम्म पुग्ने नेपाल बैंकर्स संघका कार्यकारी सदस्य सन्तोष कोइराला बताउँछन् ।

बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । यसैगरी रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ र १०.१३३ प्रतिशत पुर्याइएको थियो ।
नेपाल बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला असारको तुलनामा असोजमा बैंकहरुको बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने बताउँछन् । यस आधारमा कात्तिकमा बैंकहरुको कर्जाको ब्याजदर घटीमा पनि ०.५ प्रतिशतले थप बढ्ने देखिन्छ । नयाँ कर्जाको लागि बैंकहरुले बेस रेटमा अधिकतम ६ देखि ७ प्रतिशतसम्म प्रिमियम थप हुने बताएका छन् ।




