Logo

वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाए

देश प्रदेश समाचार २२ फाल्गुन २०७८, आईतवार १३:१४ मा प्रकाशित

भद्रपुर ।  नेपाली कांग्रेसले भद्रपुर नगरपालिका-९ नम्बर वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाएका छन् ।डा अध्यक्ष शनिलाल राजवंशीलाई झापा जिल्ला अदालतले दोषी प्रमाणित गर्दासमेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेसले शुक्रबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेको थियो । वडा कार्यालयमा ताला लागेपछि कार्यालयबाट प्रदान गरिने दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीय सेवाग्राहीहरूले आइतबार बिहान साढे १० बजे ताला फुटाएका हुन् । ताला फुटाएसँगै वडा कार्यालयबाट पुनः सेवा सुचारु भएको छ । वडा अध्यक्ष राजवंशी पनि वडा कार्यालय पुगेर सेवा प्रदान गरिरहेका छन् । विदेशी नागरिकलाई अनधिकृत नेपाली नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाणसहित वडा अध्यक्ष राजवंशीलाई झापा जिल्ला अदालतले मङ्सिर १३ गते दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेर फैसला गरेको थियो । तर पनि वडाको कामकाजमा वडा अध्यक्ष राजवंशीले निरन्तरता दिइरहेका छन् । यसैको विरोधमा कांग्रेसका ९ नम्बर वडा सभापति चेतनाथ भट्टराईको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूको टोलीले तालाबन्दी गरेको थियो । सम्मानित अदालतको आदेश पालना गरेर विधिको शासनमा रहनुपर्ने अवस्थाविपरीत वडा अध्यक्ष राजवंशीले काम कारबाही गर्नु अदालतमाथि अपमान भएको भन्दै तालाबन्दी गरिएको कांग्रेसका वडा सभापति भट्टराईले जानकारी दिए ।

यता , वडा अध्यक्ष राजवंशीले अदालतको फैसला बारेमा कहीँ कतैबाट आफूलाई लिखित प्रमाणित जानकारी नआएकोले वडा कार्यालयबाट गरिने काम कारबाहीलाई निरन्तरता दिएको बताए । झापा अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन अदालत जान पाउने निणर्य गरेको र सोही निणर्यअनुसार आफू अघि बढिरहेको उनले बताए । जनताको काम कुनै पनि हालतमा नरोक्ने उनको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?