विराटनगर । मिटरब्याज पीडित एक युवकले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै भित्र विष सेवन गरेर आत्महत्याकाे प्रयास गरेका छन् ।
माेरङकाे कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय विनित सोनारले आइतबार अपरान्ह करिब ४ बजे प्रशासन परिसरमा किटनाशक औषधि सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।

घटना विवरण अनुसार डा. नितेष तिवारीविरुद्ध सोनारकी पत्नी रीता सोनारले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।छलफलका लागि आएका उनले प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि विष सेवन गरेको प्रहरीले जनाएको छ । चेक बाउन्ससँग सम्बन्धित मुद्दामा उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले मिटरब्याज सम्बन्धी निवेदनमा आइतबार दुवै पक्षलाई राखेर छलफल गराएका थिए । साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।
लेनदेनको विवादमा दुवै पक्षको मौखिक दाबी मात्रै देखिएको साहको भनाइ छ । ‘लेनदेनको विषयमा दुवै पक्षको मौखिक दाबी मात्रै छ, लेनदेन कागजपत्र र प्रमाण केही छैन’, उनले भने, ‘एक जनाले सात लाख लिएको भन्छ, अर्काले १५ लाख दिएको भन्छ ।’
आइतबारको छलफल निष्कर्षमा नपुगेपछि साहले दुवै पक्षलाई पाँच दिनपछि आउन समय दिएका थिए । साहले भने, ‘तर, कार्यकक्षबाट बाहिर निस्किएका युवकले विष सेवन गरेको कुरा आयो, उनका साथीहरु भने कार्यकक्षमै थिए ।’
सोनारको विराटनगर महानगरपालिका-७ स्थित आरके चिल्ड्रेन अस्पतालअगाडि चिया-नास्ताको पसल सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा. तिवारीसँग ४ वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएको उनको दाबी छ ।




