भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन निर्माणमा लापरबाही भएकाे विषयमा माओवादी केन्द्र भद्रपुर नगर समितिले चासो देखाएको छ । समितिले शनिबार विहान अस्पताल परिसरमा नै पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति मार्फत चासो र धारणा अघि सारेको हो ।
करोडौँ रुपैयाँ लागतमा नवनिर्मित भवन सर्वसाधारण तवरले हेर्दा समेत गुणस्तरहीन देखिएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । गत जेठ २२ गते अस्पतालको नयाँ भवन ठिक छ भनि हस्तान्तरण लिने दिने कार्यले पार्टीको गम्भिर ध्यानाकार्षण भएको अध्यक्ष शिवकुमार राजभण्डारी र सचिव हंसधर राजवंशीले हस्ताक्षर विज्ञप्तिमा जनाइएको छ ।
भवन निमार्णाधीन रहेकै अवस्थामा पटक –पटक सम्बन्धित निकायलाइ लिखित तथा मौखिक जानकारी गराउदा समेत त्रुटीपूर्ण रहेको अस्पताल भवनलाई लिने दिने कार्य अत्यन्त निन्दनीय र खेदजन्य भएको जनाइएको छ । विज्ञप्तिमा भवनमा विभिन्न १२ वटा त्रुटी भएकाले कमसल र त्रुटीपूर्ण रहेको भवनलाइ त्रुटी सच्याउन सक्ने उच्चस्तरीय प्राविधिकहरुबाट पुनः स्टिमेट गराइ यथाशिघ्र सुधार गर्न गराउन माग गरेको उल्लेख छ ।
भवन निर्माण भइसकेपछि सघन शहरी आयोजनाले जिम्मा लगाएको अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले बताए । प्राविधिक विषयमा ज्ञान नभएकोले पानी परेपछि भवन चुहिन थालेको देखिएको उनले जनाए । उनले भने ‘बनाउनेले बनाई सकियौं लिनुहोस् भन्दा त लिनै परो नि, केही ठाउँमा पानी चुहिने र अन्य जडान गरिएका सामग्रीहरुपनि कमसल देखिएकोले असार ६ गते विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छौं’ । बरालले दुइ स्थानमा पानी चुहिएको बताएपनि जताततै पानी चुहिएको स्थलगत अनुगमनमा भेटिएको छ ।
अस्पताल निर्माणमा स्थानीय देखी केन्द्रसम्म ठूलो आर्थिक चलखेल हुदाँ गुणस्तरहीन बन्न पुगेको युवा नागरिक समूह भद्रपुर अध्यक्ष प्रेम खनालले आरोप लगाएका छन् । भवनमा सम्लग्न व्यक्तिहरु दोषी देखिएकोले ठेकेदार कम्पनीको प्रमाण पत्र खारेज, भवन आयोजना प्रमुखको राजिनामा ,अस्पताल विकास समितिका अध्यक्ष बराल फिर्ता, भवन हस्तान्तरण रोहवरमा वस्नेको पदमुक्त लगायतका माग राखिएको उनले बताए । भवनको विषयमा वेवास्ता गरे जिल्ला भरका सचेत नागरिकको उपस्थिति रहेने समेत उनले बताए । ठेकेदारलाइ काम रोक्न सम्बन्धित निकाय मार्फत जानकारी गराएपनि राती कामदार लगाएर मर्मत सुधार गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको उनले जानकारी दिए ।
अस्पताल विकास समितिले विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेकोले भवन निर्माणमा त्रुटी भएकोले उचित निकास नभएसम्म भवनको सम्पूर्ण काम बन्द गर्न निर्देशन दिएको अस्पताल विकास समितिका पदेन सदस्य तथा नगर प्रमुख गणेश पोखरेलले बताए । निर्देशनलाइ अटेर गरेर काम गरेको पाइएमा भवनमा खटिएको नगर प्रहरी मार्फत कामदारलाइ नेपाल प्रहरीको जिम्मा लगाइने उनले जानकारी दिए ।
जेठ २२ गते नै सघन शहरी विकास आयोजना झापाका सिडिइ रूपक आचार्यले मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरले सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका छन् भने आयोजनाको पत्रमा समितिका अध्यक्ष बराल, पदेन सदस्य पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्षमण पोखरेल ,जानुका पौडेल ,वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्बा लगायतले रोहवरमा हस्ताक्षर गरेका छन् ।
उदघाटन गर्ने भनेर तयारी भइरहेको कोशी प्रदेश अन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई चुहिन थालेपछि यसको सर्वत्र चर्चा चलेको छ ।
मेची अस्पतालको पुरानो भवन जीर्ण, खरीद गरिएका उपकरणहरू बिग्रने र विरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको अस्पताल विकास समितिले स्वीकार गरेको छ ।
असार ६ गते विकास समितिले विज्ञप्ति मार्फत असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहेको, छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेका छन् । त्यस्तै, २०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको छ । विज्ञप्तिमा हस्तान्तरण भइ नसकेको जनाइए पनि हस्तान्तरण भएको प्रमाण सुरक्षित छ ।
विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नता सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरिवेक्षण गर्ने पक्षलाई कानुनी दायरामा ल्याई क्षतिपूर्ति समेत असुल उपर गर्न सरकारसँग माग गरिएको छ । अस्पताल विकास समितिले नव निर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
भवनमा केही त्रुटी देखिएकोले त्यसको उचित समाधानका लागि ठेकेदारलाई १५ दिन भित्रमा सत्य तथ्य सहित प्रतिवेदन पेश गर्न जानकारी गराइसकिएको र कार्यलयका प्राविधिकसँग पनि यो विषयमा जानकारी लिने सघन शहरी विकास आयोजना झापाका सिडिइ रूपक आचार्यले बताए । उच्चस्तिरिय पं्राविधिकलाई समेत जानकारी गराएर दीर्घकालिन रुपमा समस्या नआउने गरीको काम गर्न गम्भिर रुपमा लागेको उनले जानकारी दिए ।
२४ करोड ६२ लाख रूपैयाँ ( भ्याट वाहेक २२करोड ६१ लाख ३७ हजार ३५२ रूपैयाँ ७१ पैसा) मा २०७४ साल कार्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा र्याम्प बनाएको छ । भवन अपाङ्ग मैत्री छ र त्यसमा दुईवटा लिफ्ट समेत जडान गरिएको छ ।





