झापा । झापाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ ।
आजदेखि विद्यालयमा हाजिर हुन नदिनेगरी उनीहरुलाई सामूहिक रुपमा निष्कासन गरिएको हो । गाउँपालिका कार्यालयले हिजो सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई आजदेखि कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको गत पुष २२ गतेको बैठकले सो निर्णय गरेको थियो ।

निष्कासित हुनेहरुमा हरिशंकर गणेश , निमसरी राजवंशी , शिवनारायण राजवंशी , कैलाशकुमार राजवंशी , ममता सिंह , दिलिपप्रसाद राजवंशी , राजु हल्वाई , गुलाब हुसेन , तुलसा ढुंगेल , नविन खनाल , प्रमिला राजवंशी , कमला भट्टराई , दिलिप किस्कू , ललिता राजवंशी , सरस्वती राजवंशी , सावित्रा खनाल , सन्ध्यादेवी भण्डारी , अर्चनाकुमारी यादव , लोपनारायण राजवंशी , रेश्मा खातुन , श्रवणकुमार गणेश , आदित्य राजवंशी , सरस्वती सेलिङ, पवित्राकुमारी राजवंशी , पुजाकुमारी राजवंशी , नुसरत कमर , दरवारु राजवंशी , दिपक हल्वाई ,मनकुमारी दाहाल,अनिता गणेश , पुजाकुमारी गणेश , निलिमा राजवंशी , दिपा ढकाल , ललिता राजवंशी , मंगलु राजवंशी र राखिटा गणेश रहेका छन् ।
विना जानकारी सेवाबाट निकालिएको पत्र सामाजिक सञ्जालमा देखेपछि मात्र थाहा पाएको लक्ष्मी माविकी नीजि शिक्षिका तुलसा ढुङ्गेलले बताइन् । ७७ माघ देखि अध्यापन गराउँदै आएको शिक्षिकालाई विना जानकारी हटाइनु दुःखद भएको उनको भनाइ छ । गाउँपालिकाले मन परेका मान्छेलाई भने यथावत राखेको उनको आरोप छ ।
उहाँहरुको योग्यता र शिक्षण अनुमति पत्र नभएका कारण कार्यपालिकाको निर्णयले हटाएको शिक्षा शाखा प्रमुख मनिता बरालले बताइन् । रिक्त रहेका पदहरुको विषयमा मङ्लबार कार्यपालिकाको वैठकमा छलफल हुने उनले जानकारी दिइन् ।अघिल्लो गाउँपालिका अध्यक्ष अन्जरा आलमको कार्यकालमा नियुक्त भएका अधिकांशले शिक्षण अनुमतिपत्र नलिएको जनाइएको छ । त्यस्तै योग्यता नपुगेको पनि जनाइएको छ । यसअघि गत वर्ष कचनकवल गाउँपालिका कार्यालयले ११ जना करार कर्मचारीलाई निष्कासन गरेको थियो ।
हेर्नुहाेस् निर्णय







