Logo

सरकारले बजेट नपठाएपछि झापाका सडक ठप्प

देश प्रदेश समाचार ९ चैत्र २०७९, बिहीबार १६:२२ मा प्रकाशित

झापा झापामा सञ्चालन भएका ६४ वटा आयोजनामध्ये ३० वटा आयोजना बजेट निकासा नभएका कारण अलपत्र परेका छन् ।

जिल्लामा ५५ सडक, ७ वटा पुल र बाँकी कल्भर्ट निर्माणका लागि विभिन्न मितिमा सम्झौता भएकामध्ये ३० वटा सडक अलपत्र परेको सडक डिभिजन कार्यालय झापाले जनाएको छ ।

कन्स्ट्रक्सनका ठेकेदार प्रकाश सिंहका अनुसार १ वर्षअघि नै १४ किलोमिटर सडकको बेसको काम र ४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको बताउँछन् । कामको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि भए पनि सरकारले बजेट नपठाएका कारण काम गर्न नसकिएको उनले बताए । हालसम्म ५ करोडको काम गरिसके पनि ३ करोड मात्र भुक्तानी पाएको उनको भनाइ छ । २ करोडको भुक्तानीका लागि बिल पठाएपछि गतवर्ष जेठ मसान्तमा २६ लाख पठाएर समस्यामा पारेको उनले बताए । जुनसुकै वर्ष पनि आर्थिक वर्षको अन्त्यतिर बजेट पठाएर ठेकेदारले काम नगरेको बनाउन यस्तो गरेकोमा दुःख लागेको उनको भनाइ छ । समयमा बजेट नपठाउने, देशमा दुईवटा निर्वाचन, वर्षायाम र कोरोना महामारीका कारण निर्माण व्यवसायी मारमा परेको उनको भनाइ छ । सरकारले काम नगर्ने अनि दोषजति निर्माण व्यवसायीलाई थुपार्ने परिपाटी रहेको उनले आरोप लगाए । ५ प्रतिशत गलत ठेकेदारका कारण बाँकी ९५ प्रतिशत ठेकेदार मारमा परेको उनको भनाइ छ । त्यही ५ प्रतिशतलाई देखाएर सञ्चार क्षेत्र, नेपाल सरकारले बदनाम गर्दै हिँडिरहेको उनको आरोप छ । सडकले ठेक्का लगाउँदा बोलपत्रमा उल्लेख गरिएको भन्दा अलग योजना देखाएका कारण पनि समयमा ठेक्का सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीको आरोप छ । विकासे अड्डाले समयमा बजेट पनि नपठाउने र योजनामा रकमान्तरसमेत नगरेका कारण योजनाहरू प्रभावित बन्ने गरेको उनीहरूको गुनासो छ ।

सम्झौता सङ्घीय सरकारसँग भएको तथा पछि सडक र पुल प्रदेशले हेर्ने भएपछि समस्या आएको सडक डिभिजनका इन्जिनियर एवम् सूचना अधिकारी गौतम देवले बताए । सबै योजनाको आउँदो असार मसान्तसम्म म्याद भए पनि बजेट नपठाएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नहुने उनले बताए । रोकिएका आयोजनाहरू ४० देखि ७० प्रतिशतसम्म सम्पन्न भइसकेको उनले जनाए । डिभिजनमा वि.सं. ०६६ देखि आयोजनाको सम्झौता भएको तथ्याङ्क रहे पनि हालसम्म सम्पन्न भइनसकेको उनले जनाए । कतिपय आयोजना निर्माण सम्पन्न भए पनि भुक्तानी नपाएका कारण फरफारक हुन नसकेको उनको भनाइ छ ।

 बजेट अभावमा अलपत्र परेका सडकहरूमा पूर्वाञ्चल कन्स्ट्रक्सनका ९, धन्दा÷गहिल जेभीका ५, बाम्ती भण्डार निर्माण सेवाका ३, जय ईश्वरी प्रतिभा जेभीका ३, सरोजवल्र्डट्रेड जेभीका २, लामा बाम्ती वल्र्ड वाइडे जेभीका २, नागार्जुन विष्णु जेभीका २,  दिवा नायग्रा झापाली जेभीका २, मिक्लु कन्स्ट्रक्सनका १ र रेनता निर्माण सेवाका १ वटा छन् ।  उल्लेखित सडक निर्माणका लागि भ्याटसहित भैपरी आउने (खानेपानी, बिजुली पोल, बोटबिरुवा लगायत) ८२ करोड ३८ लाख १४ हजार २ सय ४९ रुपैयाँ ३९ पैसामा ठेक्का लागेको थियो ।

ठेक्का लागेको रकममध्ये आर्थिक वर्ष ०७८/७९ सम्म ४५ करोड ७९ लाख २७ हजार ५ सय १६ रुपैयाँ ६५ पैसा कुल भुक्तानी गरिसकेको र ३६ करोड ५८ लाख ८६ हजार ७ सय ३२ रुपैयाँ ३२ पैसा भुक्तानी दिन बाँकी रहेको सडकको तथ्याङ्कले देखाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?