झापा । झापाका सीमा नाकाहरुमा तस्करहरुको बिगबिगी बढेको पाइएको छ । भारतीय बजारबाट तस्करहरुले विभिन्न सामग्री खरिद गरी नेपालको भन्सार छलेर विभिन्न नाकाबाट नेपाल भित्र्याउन प्रयास गरिएको सामान प्रहरीले धमाधम बरामद गरेपछि उनीहरुको बिगबिगी बढेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले दैनिक रुपमा भन्सार छली गरेका लत्ताकपडा, किराना सामान, विजुलीका सरसामान,मोटर पार्ट्स लगायतका सामग्री बरामद गर्दै आइरहेको छ ।
तस्करले जिल्लाको भद्रपुर, महेशपुर,पृथ्वीनगर, पाठामारी, केचना,घेराबारी, कुटी, राजगढ , गौरीगञ्ज, पान्थपाडा, झापा, काँकडभिट्टा ,वाहुनडाँगी, नकलबन्दा ,डाँगीबारी लगायतका मुख्य तथा शाखा नाकाहरुबाट सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करहरुको सामान विषेश गरी मेचीनगर क्षेत्रबाट बढी बरामद गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
गएको पुस महिना देखी फागुन मसान्तसम्मको तथ्याङ्कमा प्रहरीले ८४ लाख ७१ हजार ४ सय ७० रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । जसअन्र्तगत प्रहरीले पुसमा ३१ लाख ६२ हजार ४ सय २५ , माघमा २० लाख ८७ हजार ४ सय ३५ र फागुन महिनामा ३२ लाख २१ हजार ६ सय १० रुपैयाँ मूल्य बराबरको सामानबाट राजस्व उठाएको हो ।
जिल्ला प्रहरीको मातहातमा रहेका कार्यालयहरुमध्ये तीन महिनाको अवधिमा सवैभन्दा बढी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ४९ लाख ५३ हजार ३ सय ४९ रुपैयाँ राजस्व उठाएको छ । सो इलाका जिल्लाको मुख्य पूर्वी नाकामा पर्छ । भारतको पानीटयाङ्की र नेपाल तर्फ मेची भन्सार कार्यालय रहेको छ । सो नाकाबाट बहुमूल्य वस्तुको ओसार– पसार समेत हुने भएका कारण पनि राजस्व उठको अनुमान छ ।
प्रहरीले चैत महिनाको शुरुवातीमा नै अनुमानित १० लाख रुपैयाँ बराबरको राजस्व उठाइसकेको छ ।




