भद्रपुर । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले झापाको ३ नं. क्षेत्रमा स्वर्णिम युग सुरु हुने उद्घोष गरेका छन् । २८५९ औं सोनाम ल्होछार शुरु भएको अवसरमा झापाको भद्रपुर २ मा पर्ने कमलधापस्थित संयुक्त धार्मिकस्थलमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लिङ्देनले त्यस्तो उद्घोष गरेका हुन् । मन्त्री मण्डलमा समावेश पछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका लिङ्देनले पूर्वाधार विकास र कृषिको क्षेत्रमा विशेष काम गर्न सकिने र यसका लागि स्थानीय अगुवाहरूले विना पूर्वाग्रह अग्रणी भूमिका खेल्नुपर्ने बताए ।
उपप्रधान तथा राप्रपाका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्य एवम् १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाको विशिष्ट आतिथ्यमा पद्मछोयोलिङ गुम्बामा धार्मिकसभा आयोजना गरिएको थियो ।
गुम्बा अध्यक्ष सुभाषचन्द्र थिङको सभापतित्वमा पूर्ववर्ती सबै कार्यसमितिका सदस्यहरूलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्य समेत प्रस्तुत् गरिएको सो कार्यक्रममा चन्द्र तामाङले सोनाम ल्होछारबारे प्रकाश पारेका थिए । उपाध्यक्ष आशा तामाङले स्वागत र रुद्र तामाङ एवम् भानु तामाङले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गररेका थिए ।




