भद्रपुर । बिजुली खम्बा र खानेपानीका पाइप समयमा व्यवस्थापन नहुँदा झापा बिर्तामोड–भद्रपुर सडक खण्डको कामको प्रगति सुस्त देखिएको निर्माण कम्पनीले जनाएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थात् ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशतमात्रै सम्पन्न गरेको सडक डिभिजनको भनाइ आएपछि काममा सोचेजस्तो प्रगति हुननसकेको हो ।
बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ७ सय किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एमएस कन्टेक प्रालिले लिएको छ । भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकले जनाएको छ । सडक निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिशचन्द्र थापाले प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताए । सडकमा आवश्यक पर्ने माटो नपाएकाले काम ढिला हुन पुगेको उनको भनाइ छ । माटोका लागि भद्रपुरमा जग्गा खरिद गरिसकेकाले अब निर्माणको कामले तीब्रता पाउने उनले जानकारी दिए ।
आगामी साउन मसान्तसम्म काम सम्पन्न गरिने कम्पनीका कर्मचारी रामकुमार दङ्गालले बताए । समयअवधि अझै धेरै बाँकी रहेपनि काममा ढिलाइ भएको उनले स्वीकारे । सडकका पोल र खानेपानी पाइपको व्यवस्थापन नहुँदा काम गर्न समस्या भएको उनको भनाइ छ । सरकारले काम के कारणले ढिलाइ हुदैछ भनेर कारण पत्ता लगाउनुको सट्टा उल्टै स्पष्टीकरणको पत्र काटेको उनले बताए । सम्झौतापश्चात् ३ महिना कोरोनाका कारण काम गर्न नसकिएको साथै निरन्तर मूल्यबृद्धिका कारण ठूलो आर्थिक भार ब्यहोर्नु परेको उनले गुनासो गरे । माटोको व्यवस्थापनमा समस्या आएरमात्र केही ढिलाइ भएजस्तो देखिएपनि अब धेरैमात्रामा गाडी प्रयोग गरेर काममा तिब्रता दिइने उनले जानकारी दिए । डिभिजन कार्यालयले सूचना जारी गरेर स्पष्टीकरण सोध्ने काममा हतार गरेको उनको आरोप छ । सुचना प्रकाशितको तोकिएको मिति सोमबार सकिएको उनले जनाए ।
ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशतमात्रै सम्पन्न गरेको भन्दै सडक डिभिजन दमकले कारबाही गरेको छ ।
सम्झौता अनुसार निर्माणको काम सन्तोषजनक नभएको भन्दै झापा बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले काम ढिलाइ हुनुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।
सम्झौताअनुसार ७ महिनामात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको जनाइएको छ ।
सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले बताए ।
३० महिनामा सक्नुपर्ने काम २३ महिना बितिसकेपनि अहिलेसम्म कामको प्रगति २५ प्रतिशतमात्रै भएको प्रमुख पौडेलको भनाइ छ । काम किन नगरेको भनेर पटकपटक सोधीखोजी गरेको उनले जनाएं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै काम गर्न पटकपटक आग्रहसमेत गरिसकिएको उनको भनाइ छ । तर, बेवास्ता गरेपछि कार्यालयबाट पहिलो चरणको कारबाही स्वरुप लिखित स्पष्टीकरण मागेको बताए । स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत प्रक्रिया अगाडी बढाइने उनले जनाए । पहिलो चरणको पत्रको समय सोमबार सकिएको उनले जनाए । विद्युत् पोल ,खानेपानी पाइप सवै ठेक्का भित्र नै परिसकेकोले सवै काम कम्पनीले गरेर बिल भरपाई सडकमा पेस गर्ने हो । तर, अहिलेसम्म कुनै प्रस्ताव नआएको उनले जनाए । बिर्तामोड–भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ ।





