Logo

‘भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

देश प्रदेश समाचार १४ पुष २०७९, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडाैं सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा भागबन्डा मिलाउन बैठकमा बस्दै छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी बोलाएका छन् ।

यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए ।

गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन् । तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन ।

माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी रहेकाे एक नेताले बताए ।

प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ । तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन् ।

साथै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनीनिकट एक नेताले दाबी गरेका छन् ।

सरकारका न्युनतम साझा कार्यक्रम तय गरेर जाने विषयमा पनि आज गठबन्धन बैठकमा छलफल गरिने भएको छ। राप्रपालगायत दलहरूले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउनुपर्ने र त्यहाँ आफूहरूका सर्त समावेश गरिनुपर्ने अडान राखिरहेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?