Logo

सत्ता गठबन्धनका शिर्षनेताहरु बैठक छाेडेर एमालेसगँ छलफलमा

देश प्रदेश समाचार १० पुष २०७९, आईतवार १५:४० मा प्रकाशित

काठमाडाैं राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

सरकार सहमतिमै बनाउने उद्देश्यले आज सत्तागठबन्धकाे बैठक बसेकाे थियाे तर बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको थियाे । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको थिएन त्यसैले सहमति हुन नसक्दा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले बैठक छाेडेर गएपछि अरु नेताहरु पनि बाहिरिए ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको छ भने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, एक नेताले भने ।

बालकाेटकाे छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका नेता अशोक राईसहित शीर्ष नेताहरु सहभागी भएका छन् । तर अहिले जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए । जसपाको बैठक आइतबार दिउँसो नै बस्दैछ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?