Logo

क्षेत्र नं. ५ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् ‘५ वर्षमा उत्कृष्ट क्षेत्र बनाउँछु’

देश प्रदेश समाचार ९ मंसिर २०७९, शुक्रबार १६:४१ मा प्रकाशित

कनकाई झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् ।
नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्यसमेत रहेका साँवाले निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरे ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि साँवाले आफूलाई पुनः सांसद बनाएर यस क्षेत्रको विकास गर्ने अवसर प्रदान गरेकोमा आम मतदाता, शुभेच्छुक, नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् । आफ्नोे पहिलो कार्यकाल पूर्वाधार विकासमा लक्षित रहेको र सोही अनुसार समय र लगानी पनि खर्च भएको अवगत गराउँदै उनले अबको ५ वर्षे कार्यकालमा मानव विकास र पूर्वाधार विकासमा समानान्तर दृष्टिकोण राखेर दुवै क्षेत्रलाई उत्तिकै महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापा क्षेत्र नं.४ मा महिला ६१ हजार १०१ र पुरुष ६२ हजार २२ जना गरी १ लाख २३ हजार १ सय २३ मतदाता थिए । कूल मतदाता मध्ये ७९ हजार ४ सय ८३ जनाले मतदान गर्दा ६४ दशमलव ५५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो, सोमध्ये ४ हजार ६४७ अर्थात ५ दशमलव ४८ प्रतिशत मत बदर भएको तथ्याङ्कमा जनाइएको छ ।
क्षेत्र नं. ४ मा १२ जना उम्मेदवारहरु राजनीतिक दलबाट र ६ जना स्वतन्त्र गरी जम्मा १८ जनाले प्रतिनिधि सभा सदस्य पदको लागि चुनावी प्रतिस्पर्धा गरेका थिए ।
अन्तिम मत परिणामको विवरण अनुसार सो क्षेत्रमा साँवा र थेवेका अतिरिक्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकालले १४ हजार ६९, स्वतन्त्र उम्मेदवार खुस्वु ओलीले ५ हजार १० मत पाएका छन् । यस्तै हाम्रो नेपाल पार्टीका युक्त भेटवालले ९१७, स्वतन्त्र उम्मेदवार नन्दराज राईले ८१०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लाहानसिंह तुम्वाफेले ७०६, मंगोल नेशनल अर्गनाइजेशनका दिलीप धिमालले ४४५, जनमत पार्टीका सत्यनारायण राजवंशीले ४१६, जनता समाजवादी पार्टी नेपालका हर्कराज राईले १८३, राष्ट्रिय जनमुक्ति पार्टीका मनकुमार ताक्मादेनले १८२, लोकतान्त्रिक समाजवादी पार्टीका ग्यासुदिन मियाँले १११ मत पाए ।
यसपछि सय मत पनि नकटाउने दलका उम्मेदवार र स्वतन्त्रहरुमा कमल पौडेलले ९० (स्वतन्त्र), पूर्णकुमार लिम्बूले ६७ (स्वतन्त्र), नेपाली कांग्रेस विपीका दुर्गाप्रसाद घिमिरेले २६ र किरण श्रेष्ठले १८ (स्वतन्त्र) मत पाए । नेपाल मजदुर किसान पार्टीका बिक्रम काशीछावाले १३ र लक्ष्मीनारायण खनालले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ का प्रमुख प्रकाश गौतमले जानकारी गराएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?