Logo

विश्वकपका सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने

देश प्रदेश समाचार ५ कार्तिक २०७९, शनिबार ११:०२ मा प्रकाशित

काठमाडौं विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्नेगरी तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

‘विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर हो,’ टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भने, ‘त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका हौं ।’

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको समेत उनले बताए ।

फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

एक्सक्लुसिभ अधिकारका कारण यसपटक नेपालका लागि फुटबल राइट्सको मूल्य अघिल्लोपटक भन्दा ६ गुणा महँगो परेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताउँछन् । धितालका अनुसार योपटक प्रसारण अधिकारका लागि मात्र २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ । प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने उनले बताए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?