Logo

भतिजलाई गोली हानेर काकाले आत्महत्या गरे

देश प्रदेश समाचार १ कार्तिक २०७९, मंगलवार २२:३३ मा प्रकाशित

झापा झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

यसको केही अघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बासको झ्याङ्गमुनि शाह गम्भिर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलमा ३ राउण्ड गोली बरामद भएको छ । गोजीमा पनि ११ वटा गोली भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?