काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमैैै पक्राउ गरेको छ ।
लामिछाने कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।

अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।




