Logo

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए एक्साकाभेटरमा ताला

देश प्रदेश समाचार १ भाद्र २०७९, बुधबार १४:१९ मा प्रकाशित

बुटवल सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् ।

बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए ।

उक्त सडक खण्डमा चार वटा कल्भर्ट निर्माणका लागि महेश इन्जिनियरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

तीनवटा कल्भर्ट बनाए पनि चौथो कल्भर्ट बनाउने काम पूरा भएको छैन । प्रदेश पूर्वाधार कार्यालय मणिग्रामका प्रमुख इन्जिनियर ललित न्यौपानेले ठेकदारले चौथो कल्भर्ट बनाउन ढिला गरेर म्याद समेत गुजारेको बताए ।

काम छिटो सक्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर ताला लगाइदिएको वडाध्यक्ष रानाले बताए । ‘डाइभर्सन बनाइदिन भन्दा पनि बनाएनन्, वडाले ३ पटकसम्म गिट्टी हालेर अस्थायी रुपमा आवतजावत गर्न मिल्ने बनायौं,’ वडाध्यक्ष रानाले भने, ‘सडकमा हिंड्नै नसक्ने अवस्था आयो भनेर वडावासीको गुनासो बढेपछि ताला लगाइएको हो ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?