नेपालगन्ज । केहिदिन अगाडि एक दम्पतीकाे हत्याकाण्डकाे याेजनाकार र हत्या गर्न लगाउने मृतका आफ्नै दाजु रहेकाे अनुसन्धानकाे क्रममा खुलेकाे छ । मृतक कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरीले पत्ता लगाएको हो। पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न भनेर ‘कन्ट्र्याक्ट किलर’हरूलाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले वताए ।
दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए।
कोहलपुर नगरपालिका-१४ का २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए। दम्पत्तीको हत्यामा नेपालगन्ज उपमहानगरपालिका-१९ सूर्यगाउँका १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको डिएसपी मल्ले जानकारी दिए।
डेढ महिना अगाडि नै दुई लाख रुपैयाँ उनीहरूले बुझिसकेका रहेछन्। घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार दिएको रहेछ,’ डिएसपी मल्लले भने, ‘बाँकी साढे दुई लाख केही समयपछि दिने कुरा भएको तथ्य अनुसन्धानबाट खुल्यो।’
पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। राजनले घटना घटाउँदा उक्त नलकटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको डिएसपी मल्लले जानकारी दिए।
डिएसपी मल्लका अनुसार घटनास्थलमा उक्त पेस्तोलबाट एउटा फायर भएको थियो। गडरिया दम्पत्तीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएर तथा हातको नशापनि काटिएको हुँदा
अत्यधिक रक्तश्रावबाट भएको पोष्टमर्टम रिपोर्टबाट देखिएको थियो।
‘पहिला अञ्जलीलाई डोरीले घाँटी कसेर हत्या गरेपछि कृष्णको हत्या गर्दा बढी संघर्ष हुन पुग्यो,’ डिएसपी मल्लले भने, ‘अपराधीहरूले त्यही क्रममा कृष्णलाई गोली नहाने पनि हावामा फायर गरेर तर्साएको स्वीकार गरिसकेका छन्।’
प्रहरीले घटनास्थलमा गोलीको लिक मात्रै फेला पारेको थियो। खोका पेस्तोलको ब्यारेलमै अड्किएको अवस्थामा फेला परेको डिएसपी मल्लले जानकारी दिए।
घटनास्थलमा फेला परेको गोलीको लिकमा रगत नलागेको तथा हत्या गरिएका दुबैका शरीरमा कतै गोली लागेको घाउसमेत फेला नपरेको प्रहरीले जनाएको छ।
सुरूमा हत्या योजनाकार विजयकुमारले भारतीय नागरिकलाई हत्यामा प्रयोग गरेको बयान दिएका थिए। तर राति १० बजेतिर नेपालगन्जकै युवाहरूलाई पाँच लाख रुपैयाँ दिने सर्तमा हत्या गर्न लगाएको बयान गरेपछि प्रहरी हत्यामा संलग्न व्यक्ति कहाँ पुग्न सफल भएको थियो।
‘विजय र रेखाको बयान लगत्तै प्रहरी राति नै मुभ भयो र उनीहरूलाई नियन्त्रणमा लिन सफल भयो,’ डिएसपी मल्लले भने, ‘यो घटनामा यति छिट्टै सफलता मिल्छ भनेर हामीले सोचेका पनि थिएनौं।’
पक्राउ परेका कन्ट्र्याक्ट किलरहरूले आफूहरूलाई ५० हजार रुपैयाँ दिएर भाइबुहारीको हत्या गर्न लगाएको बयान दिएका थिए।
उनीहरू सबैजनाविरूद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप भएको डिएसपी मल्लले जानकारी दिए।




