Logo

झापाको शिवसताक्षी नगरपालिकाले इन्धन खरिदमा मात्रै ९० लाख स्वहा

देश प्रदेश समाचार ९ श्रावण २०७९, सोमबार १४:१५ मा प्रकाशित

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिकाले दुई वर्षमा इन्धन खरिदमा मात्रै ९० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष इन्धन खरिदकै लागि नगरले ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । नगरकार्यपालिकाबाट कार्यविधि बनाएर बर्षेनि लाखौं रुपैयाँको उनीहरुले सुविधा लिदै आइरहेका छन् । नगरकार्यपालिकाले जारी गरेको कार्यविधिमा अधिकृतस्तरका कर्मचारीलाई १५ लिटर, पाँचौं तहका कर्मचारीलाई १० लिटर र चौथो तहका कर्मचारीलाई ८ लिटर पेट्रोल मासिक रुपमा पाउने उल्लेख छ ।
यसका अलावा स्वास्थ्य सेवाका पालिकाका इञ्चार्जलाई १० लिटर र आवश्यकताअनुसार पालिकाका प्राविधिक शाखाका कर्मचारीले इन्धन दिइने गरिएको छ । नगरले आर्थिक वर्ष ०७७÷०७८मा ४० लाख र ०७८÷०७९मा ५० लाख खर्च गरेको छ । चालू आर्थिक वर्ष ०७९÷०८० का लागि १०औँ नगरसभाले ६० लाख छुट्याएको छ । नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीले दोहोरो सुविधा पाउने गरेसँगै नगरले इन्धन खरिदका लागि बजेट व्यवस्थापन गरेको हो ।
अघिल्ला वर्षमा छुट्याइएको बजेटले इन्धन खर्च पु¥याउन पालिकालाई धौ–धौ भएको जनाउँदै नगरसभाले थप १० लाख गरेर ६० लाख पु¥याएको बताइएको छ ।
जनप्रतिनिधि र कर्मचारीले सरकारबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था छ । आर्थिक वर्ष ०७६÷०७७ मा महालेखा परीक्षकको कार्यालयले इन्धन खरिद शीर्षकमा गरेको खर्चलाई बेरुजु ठहर गरेपछि शिवसताक्षी नगरपालिकाले कार्यविधि बनाएर इन्धनमा खर्च गर्ने गरेको छ ।
संघीय र प्रदेश सरकारको कानूनसँग बाँझिने गरी कार्यविधि बनाएर इन्धनमा लाखौँ रुपैयाँ खर्च गर्न नपाउने व्यवस्था छ । तर, संघ र प्रदेश सरकारले बनाएको ऐन, नियम र कार्य विधिको धज्जी उडाउँदै नगरपालिकाले इन्धनमा मनोमानी खर्च गर्ने गरेको छ ।
अर्कोतर्फ शिवसताक्षी नगरपालिका अनावश्यक सवारी साधन खरिद गरेर विवादमा तानिएको छ । कार्यालयमा मौजुदा मोटरसाइकल हुँदाहुँदै कर्मचारीका लागि भन्दै विलासिताका मोटरसाइकल खरिद गरिएको हो । ती मोटरसाइकल पालिकाका शाखा प्रमुखले प्रयोग गर्ने गरेका छन् ।
नगरपालिका स्रोतका अनुसार आठौं नगरसभाबाट मोटरसाइकल खरिदका लागि १८ लाख विनियोजन गरेको थियो । त्यही निर्णयलाई आधार मानेर प्रक्रियागत ढङ्गबाट मोटरसाइकल खरिद गरिएको नगरपालिकाका एक जनप्रतिनिधिले बताउँनुभयो । विलासिताको नयाँ मोटरसाइकल नगरमा खरिद भयो उहाँले भन्नुभयो ।
उक्त मोटरसाइकल योजना शाखाका प्रमुख प्रकाश चन्द्र चौधरी, प्रशासन प्रमुख डिल्ली नेपाल, लेखा अधिकृत प्रकाश योङ्हाङ, शिक्षा शाखाका प्रमुख छवि ढकाल र इञ्जिनियर कृष्ण राईले प्रयोग गर्ने गरेका छन् । कर्मचारीले प्रयोग गर्ने यी मोटरसाइकल मध्ये दुईवटा यामाहा कम्पनीको सलुटो १५० सीसीका चार लाख मूल्य बराबरका छन् । अन्य तीनवटा सोही कम्पनीको एमटी फिफ्टिनका २ लाख ४५ हजार मूल्यको रहेको समाचार स्रोतले बताएको छ ।
नगरपालिकामा २१ वटा मोटरसाइकल र दशवटा गाडी छन् । यीमध्ये पाँचवटा चार चक्के र अन्य सोभन्दा माथिका सवारी साधन छन् । नगरपालिकाको एक कर्मचारीका अनुसार पालिकामा मौजुदा मोटर साइकल हुँदाहुँदै नयाँ मोटरसाइकल खरिद गरिएको हो । पालिकामा रहेका मोटरसाइकललाई प्रयोग गर्न छाडेर नयाँ मोटरसाइकल खरिद गर्दा सर्वसाधारण नगरवासीबाट संकलन भएको कर विलासिताका वस्तुमा खर्च भएको छ ।
योजना शाखाका प्रमुख प्रकाश चन्द्र चौधरी निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा मोटर साइकल खरिदको प्रक्रिया अघि बढाउन कर्मचारीबाटै दबाब थियो । तर, उहाँले माननुभएको थिएन । नगरपालिकामा अन्य सवारी साधन हुँदाहुँदै नयाँ मोटरसाइकल खरिद नगर्ने मोडमा उहाँ भएपनि पालिकामा हालै प्रमुख प्रशासकीय अधिकृत अमृत राई आए लगत्तै मोटरसाइकल खरिदको प्रक्रिया अघि बढेको स्रोतले बताएको छ ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?