विराटनगर । दलहरुले पुरानै अडान नछोडेकोले अझैसम्म प्रदेश १ काे नामकरण हुन सकेन ।
प्रदेश १ को नामकरणमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक सहमतिमा पुग्न नसकेपनि सकारात्मक बातावरण बनेको नेताहरुले बताएका छन् ।

‘बैठक सकारात्मक भयो । फेरि बस्ने सहमति भएको छ’ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने । प्रदेशसभा सचिवालयमा तीन घण्टा चलेको बैठकमा दलहरुले पुरानै अडान नछोडेको नेताहरुले बताए । बैठकपछि मुख्यमन्त्री राजेन्द्र राईले सहमति हुने आशा व्यक्त गरे । ‘आफ्नो आफ्नो अडानमा रहने हो भने नाम टुङ्गो लगाउन गाह्रो हुन्छ’, मुख्यमन्त्री राईले भने, ‘लचकता देखाएर बैठकलाई निरन्तर अगाडि बढाउनुपर्छ भनेर सहमति छ ।’नेकपा एमालेका नेता जीवन घिमिरेले नाम राख्ने विषयमा सबै दल सहमत भए पनि नामको विषयमा थप छलफल आवश्यक रहेको बताए । ‘सबैले लचकता अपनाउने सहमति छ’ घिमिरेले भने, ‘हामी बहुपहिचानमा जान तयार छौं ।’ सीमित जातीलाई भन्दा पनि सर्बमान्य रुपमा बहुपहिचानका आधारमा नाम राख्न एमाले छलफलका लागि तयार रहेको उनको भनाइ छ ।बैठकमा दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट नामको प्रस्ताव गरेका थिए । तर सहमतिका लागि सबै तयार रहेको कांग्रेस प्रमुख सचेतक सुयर्माराज राईले बताए । ‘अस्ति मोही माग्ने ढुंग्रो लुकाउने जस्तो थियो, आज खुलेर छलफल भयो । आजको छलफलले नाममा सहमति जुट्ने सम्भावना छ’, राईले भने । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फेले नामका विषयमा दलहरुबीच छलफल भएपनि निष्कर्षमा नपुगेको बताइन् ।




